युरोकप फुटबल ः इटाली र डेनमार्क क्वार्टरफाइनलमा

काठमाडौँ।। इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो । अष्ट्रियाले एक गोल फर्कायो ।

खेलको ९५ औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १–० गोलको सुरुवाती अग्रता दिलाए । उनले लियोनार्दोको पासमा गोल गरे । उनी खेलको ८४ औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको १ सय ५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए । फ्रान्सिस्कोको पासमा गोल गरेका उनी ६७ औं मिनेटमा निकोला बरेलाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएपनि इटाली २–१ ले विजयी भयो । उनले लुइसको पासमा हेडमार्फत गोल गरे । तर, उनको गोलले टिमलाई हारबाट जोगाउन भने सकेन ।

त्यसअघि ३२ औं मिनेटमा इटालीका सिरो इमोबाइलको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो । यस्तै ६५ औं मिनेटमा अष्ट्रियाका मार्को अर्नुटोभिकले गोल गरेका थिए । तर, भीएआर रिभ्युमा अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।

यस जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो ।

इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन ।

यससँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको समूह चरणमा इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा इटालीले ३ खेलमा ९ अंक जोडेको थियो ।

पहिलो पटक नकआउट चरणमा पुगेको अष्ट्रिया समूह ‘सी’ को उपविजेता बनेको थियो । समूह चरणमा अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो । यसैगरी हिजो राति भएको अर्को खेलमा जित हात पार्दै डेनमार्क पनि क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको पहिलो प्रि–क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । मिकेल डाम्सगार्डको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

दोस्रो हाफको सुरुवातमै डोलवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २–० को अग्रता दिलाए । वेल्सका निको विलियम्सले क्लियर गरेको बल नियन्त्रणमा लिदैं उनले ४८ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ८८ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कलाई ३–० को अग्रता दिलाए । जेनसनको पासमा उनले सहजै गोल गरे ।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । माहेललाई फउल गरेपछि उनलाई सिधै रातो कार्ड दिईएको थियो ।

त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ४–० को सानदार जित दिलाए । आन्द्रेसको पासलाई उनले सदुपयोग गरेका हुन् ।

यस जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।

अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।

यस अघि डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । वेल्स समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार