खविन लुइटेल ।। पाँचथरमा कोरोना संक्रमितको ब्यवस्थापनमा लापरवाही पाइएको छ । सुरुमा स्वाव परिक्षण गर्दा नतिजा पोजेटिभ आए फोन आउछ र नेगेटिभ आए फोन आउदैन है भन्ने गरेको तर कोरोना संक्रमितलाइ समेत फोन नजादा उनिहरु हिडडुल गरिरहेको पाइएको हो ।
फिदिम १३ का एक पुरुष सोमवार विहान आफ्नो नतिजा खोज्दै अस्पताल आइपुगेका थिए, २ दिन अगाडीनै आएको उनको नतिजामा संक्रमितको लिस्टमा उनि पहिलो नम्बरमा छन भने स्वाव दिनेहरुको लिस्टमा तेश्रो नम्बरमा छन् । यदि कसैलाई सम्वन्धित निकायबाट क्रमशः फोन गरिने हो भने सबैभन्दा पहिलो फोन उनैलाइ जानु पर्ने देखिन्छ ।
आफ्नो घरमा ३ जनामा संक्रमण पुष्टि हुदा कसैले पनि फोन नगरेको फिदिमका नविन बुडाथोकीको गुनासो छ । आफुलाइ आफ्ना शुभेच्छुकहरुले फोन गर्दा मात्रै परिवारका सदस्य संक्रमित रहेको थाहा भएका बताए । उनको छिमेकी दाइ समेत विहान भरी साथिभाइ संग मकै गोडेपछि भरे आफन्तले फोन गर्दा मात्रै संक्रमित भएको चाल पाएका थिए ।
राष्ट्रिय वाणिज्य वैंक फिदिम शाखामा कार्यरत प्रतिमा निरौलाले समेत स्वाव दिदा फोन आउछ है भनेको तर संक्रमण निको भैसक्न लाग्दा समेत कतैबाट फोन नआएको गुनासो गरिन् ।
यस्तो लापरवाहीले नागरिकमा संक्रमणको जोखिम झनै बढेको सरोकारवालाको गुनासो छ ।
स्वास्थ्य कार्यालयका प्रमुख नारदमणी सुवेदीले एण्टीजेन परिक्षणमा पोजेटिभ नतिजा आउनेलाइ अस्पतालले खवर गर्ने र पिसिआर परिक्षणमा पोजेटिभ नतिजा आउने संक्रमितलाइ स्थानीय सरकारले खवर गर्ने र कन्ट्रयाक्ट ट्रेसिङको काम गर्नुपर्ने सुनाउछन । एन्टीजेन परिक्षणको नतिजा तत्कालै प्राप्त हुने भएकोले सोको जानकारी संक्रमित समक्ष सहजै पुग्ने तर पिसिआरको नतिजा आउन केही दिन लाग्ने भएकोले संक्रमितको कहिले फोन नलाग्ने त कहिले नउठ्ने जस्ता समस्या हुने गरेको उनकोे भनाइ छ ।
यता फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्विका प्रसाद अधिकारी भने आफुहरुले स्वास्थ्य शाखा मार्फत फोन गर्ने, वडाध्यक्ष मार्फत खवर गर्ने लगायका काम गरिरहेको बताउछन् ।
तर कतिपय नागरिकले आफ्नो नाम, ठेगाना र नम्बर नै गलत टिपाउने या गलत टिपिएका कारण समस्या भएको उनको भनाइ छ । त्यसरी स्वाव दिएका नागरिकले आफु बाहिर हिड्न परे र आफुलाइ नतिजा थहा नभए नगरपालिकाको स्वास्थ्य शाखाको सम्पर्क नम्बर या आफ्नै वडाध्यक्ष लाइ १ कल फोन गरेर नतिजा बुझेर मात्र बाहिर निस्कन उनको आग्रह छ ।






















