काेराेना खाेपकाे लागि कानुनी बाटो खुल्यो, भण्डारणमा समस्या

कोरोना भाइरसको खोप बनेको समाचार दैनिक रुपमा आइरहेका छन् । खोप बनेसँगै त्यसको अन्तिम परीक्षण गर्ने र त्यसलाई कसरी विश्वका सबै देशमा पुर्‍याउन सकिन्छ भनेर कोभ्याक्स टिम (विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंक) तयारी थालेको छ ।

अहिले नेपालमा माइनस १८ डिग्रीसम्म खोपको भण्डारण गर्न सक्ने क्षमता छ । अहिले भएको क्षमतामा केही थप गरेमा डब्ल्युएचओले उपलब्ध गराउने तीन प्रतिशत खोप भण्डारण गर्न सक्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताए ।

अहिले हामीसँग भएको भण्डारणमा केही थप गरेमा तीन प्रतिशतमा पुग्ने भण्डारण गर्न सक्छ । त्यस्तै नेपालमा विगतदेखि नै भण्डारण गर्दैै आएको र २ डिग्रीदेखि ८ डिग्रीसम्मको आठ लाख डोज भण्डारण गर्न सक्ने क्षमता नेपालसँग रहेको डा शर्माले भने ।

अन्तिम परीक्षण पूरा भएमा र यसले कोभिडको संक्रमण रोक्ने पुष्टि गरेमा विश्वका धनी, गरिब सबै देशका कम्तीमा तीन प्रतिशत फ्रन्र्ट लाइनरहरुलाई एकै पटक खोप लगाउने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकको टोलीले कोरोनाको खोप बारे निर्णय गरेसँगै एक पटक विश्वका तीन प्रतिशत देशका नागरिकलाई खोप लगाउँछ ।

विश्वका धेरै देशहरुमा कोरोनाको खोपको अन्तिम परीक्षणको तयारीमा रहेको बेला नेपाल सरकारले समेत खोप बारे चासो देखाएको छ । खोप आउन सक्ने मिति, भण्डारण तथा वितरण कसरी गर्ने भनेर सरकारी संयन्त्रले यसको तयारी थालेको छ । शाखा प्रमुख डा गौतमले नेपाल खोप ल्याउन सक्ने सम्भावनाको आधारमा तयारीको अवस्थामा रहेको बताए ।

‘खोप उत्पादन भएसँगै धनी, गरिब सबै देशका नागरिकलाई एकै पटक विश्व स्वास्थ्य संगठनले खोपको भाइल उपलब्ध गराउँछ’ डा गौतमले थपे, ‘त्यसको लागि कोभ्याक्सले सबै देशमा खोप उपलब्ध गराउँदैछ ।’

विश्वका धेरै मुलुकमा भ्याक्सिन परीक्षण सफल भएको समाचार आएसँगै नेपालले त्यसको तयारी थालिसकेको छ । नेपालले पहिलो चरणमा खोपका भाइलहरु नेपाल ल्याएर कसरी भण्डारण गर्ने र त्यसको स्टोरेज कसरी गर्ने भनेर छलफल सुरु गरेको छ । त्यसको तयारीस्वरूप विभिन्न निकायका पदाधिकारी समेटेर एउटा कार्यदल गठन गरेको छ ।

सो कार्यदलको सदस्य सचिव समेत रहेका डा गौतम सरकारले खोप भण्डारणलगायका बिषयमा गृहकार्य गरिरहेको छ । कार्यदलले नेपालमा कसरी खोप ल्याउन सकिन्छ भन्ने तयारीका लागि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारदेखि पैसा संकलन गर्ने योजनामा छ ,। खोप किन्न कानुनी बाधा फुकेसँगै आर्थिक समस्या नभएको कार्यदलको निस्कर्ष छ । कार्यदलमा परराष्ट्र मन्त्रालयका सचिव र अर्थ मन्त्रालयका सचिव सदस्य छन् ।

महामारी तथा संक्रमणका बेला सहज रुपमा खोपका भाइलहरु ल्याउन सहज बनाउन नेपालले कानुनी बाधा अड्चन फुकाउने प्रयासस्वरुप राष्ट्रपतिबाट एउटा अध्यादेश स्वीकृत भैसकेको डा शर्माले बताउँछन् ।

‘औषधि ऐन २०३५ का केही प्रावधान संशोधन गर्न ल्याइएको यो अध्यादेशले आपतकालीन रूपमा औषधि तथा यस्ता खोप ल्याउने कानुनी बाटो खुला भएसँगै त्यसको भण्डारण कसरी गर्ने भनेर प्रयास गरिरहेका छौ’ डा शर्माले भने ।

यो अध्याधेश आएपछि नेपालले अरु देशमा कोरोनाको खोपको राम्रो काम गरेमा नेपालमा सिधै दर्ता भएर सो खोपको प्रयोग गर्न सकिने बाटो खुला भएको हो ।

विश्वका कुनै पनि देशमा उत्पादन भएका खोपहरुको प्रयोगको अनुमति विश्व स्वास्थ्य संगठनले कसैलाई पनि अनुमति दिएको छैन । तर जनवरीदेखि फेब्रुअरीसम्ममा खोपको अनुमति दिने संम्भावना भएसँगै नेपालले समेत त्यसको भण्डारण गर्नको लागि तयारी थालेको छ । विश्वमा अमेरिका, चीन, रुसमा खोपको परीक्षणको अन्तिम चरणमा छन् ।

त्यसको अनुमति पाएसँगै एकैपटक विश्वका तीन प्रतिशत जनतामा खोप लगाइनेछ । बाँकी २० प्रतिशत खोप ल्याउने सम्बन्धित देशको सरकारको भूमिकाको आधारमा निर्भर हुने डा गौतमले स्पष्ट पारे ।

खोपको ‘फाइनल’ तथ्याङ्क आइसकेको छैन । खोपको फाइनल आएसँगै त्यसको अनुमति बिक्री, वितरण र प्रयोगका लागि त्यही तथ्यांक विश्लेषण आधार तय गरिनेछ । (गोरखापत्र)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार