हङकङमा एक पटक कोरोना संक्रमण भएर निको भएका व्यक्तिलाई फेरी कोरोना संक्रमण भएको एक केस फेला परेको छ । बीबीसीका अनुसार ३० बर्षभन्दा माथिको उमेरका यी व्यक्तिलाई साढे चार महिना अघि कोरोना संक्रमित भएर ठिक भएका थिए ।

वैज्ञानिकहरुले एकै व्यक्तिलाई दोस्रो पटक कोरोना संक्रमण भएको यो पहिलो केस भएको बताउदै यस भाइरसको जीन फरक भएको बताएका छन् । यस विषयमा विश्व स्वास्थ्य संगठनले एक केस आउदैमा सिधै निष्कर्षमा पुग्न नसकिने बताएको छ । विश्वका वैज्ञानिकहरुले भने दोबारा संक्रमण निकै दुर्लभ घटना भएको प्रतिक्रिया दिएका छन् ।

हङकङ विश्वविद्यालयको यस रिपोर्टमा संक्रमण ठिक हुनुअघि यी व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेका थिए । तर अहिले एयरपोर्ट स्क्रिनिंगमा उनी फेरी संक्रमित पाइएको हो । तर उनमा कुनै लक्षण भने छैनन् ।

लन्डन स्कुल अफ हाइजिनका प्रेफेसर ब्रेडन रेनले यो निकै दुर्लभ भएको प्रतिक्रिया दिएका छन् । सामान्यतया कोरोना ठिक भएपछि शरीरमा इम्युन सिस्टम विकसित हुने र भाइरस फेरी फर्किने सम्भावना नहुने भएकाले यो निकै दुर्लभ घटना भएको उनले बताएका छन् ।

विश्व भरका डाक्टर तथा विशेषज्ञहरुले यहि विषयमा आफ्ना धारणा राखि रहेपनि इम्युन सिस्टमले कहिलेसम्म काम गर्छ र फेरी संक्रमण नहुने ग्यारेन्टी के छ भन्ने बारेमा भने स्पष्ट गर्न सकेका छैनन् ।