सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको आन्तरिक किचलोका कारण स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । नेकपा स्थायी कमिटी बैठक कुन रूपमा टुंग्याउने भनेर दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा विवाद जस्ताको तस्तै छ।

दुवै पक्ष आआफ्नो अडानमा रहेका कारण मंगलबारका लागि बोलाइएको बैठक राख्ने/नराख्ने विषयमै मतभेद हुने अवस्था समेत देखिएको छ। १० असारदेखि जारी स्थायी कमिटीति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा पुगेको हो ।

पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद यथावत छ । स्थायी कमिटी बैठक मंगलबार (आज) बिहान ११ बजेका लागि तोकिएको छ।

अध्यक्ष पुष्पकमल दाहाललाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबारको बैठक नरोक्न र प्रधानमन्त्री सहमतिमा नआए पनि पार्टी कमिटीबाटै बहुमत/अल्पमतकै आधारमा निर्णय प्रक्रियामा जान दबाब बढाएका छन्।

दाहालले पनि अब प्रक्रिया नरोक्ने, पार्टीको नियमित एजेन्डामै छलफललाई फर्काउने गरी जाने धारणा नेताहरूसँगको छलफलका क्रममा व्यक्त गरेका छन्।

दाहाल–नेपाल समूहले स्थायी कमिटी नरोक्ने तयारी गरे पनि ओली पक्षले भने अझै पनि दाहालसँगको छलफलका आधारमा मात्र मंगलबारको बैठकका विषय टुंगो लाग्ने बताएको छ।

ओली पक्षका स्थायी कमिटी सदस्यसमेत रहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले दुई अध्यक्षको छलफलका आधारमा निस्किने निर्णयअनुसार पार्टी अगाडि बढ्ने बताए।

ओली र दाहाल गत असार १८ गते यता निरन्तर छलफलमा छन्। ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिइरहेका छन्। दाहालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुईमध्ये एउटा पदबाट राजीनामा दिन दबाब दिइरहेका छन् । अधिकांश स्थायी कमिटी सदस्यले समेत प्रधानमन्त्री ओलीलाई दुबै पद छाड्न दबाब दिइरहेका छन् । from:stv