काेराेना भाइरस (काेभिड १९) का कारण देशैभर लकडाउन भइरहेका बेला सुदुरपश्चिमकी एक सांसदले भने लाजै लाग्ने काम गरेकी छिन् । लकडाउनकै कारण लाखौं दैनिक ज्याला मजदुरी गरेर खानेहरूका लागि बिभीन्न संघ सस्थाहरूले मानवियता देखाउँदै राहत वितरण गरिरहेका बेला सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक महिला सांसदले भने राहत बाड्न गएकाे भन्दै भत्ता बुझेकाे तथ्य सार्वजनिक भएकाे छ ।

लाखौ मानिसहरु राहत नपाएकै कारण भोको पेटमा बस्न बाध्य भइरहेका छन् तर नेपाली कांग्रेसबाट सांसद बनेकी कुमारी नन्दा बमले भने राहत बाड्न गएकाे भन्दै प्रदेश सभाबाट भत्ता बुझेकी हुन् । सार्वजनिक लेखा समितिकी सभापति समेत रहेकी सांसद बमले प्रदेश सभाबाट दुई पटक राहत बाँड्न गएको भन्दै रकम बुझेकाे तथ्य सार्वजनिक भएपछि उनकाे निकै आलोचना भएकाे छ ।

सांसद बमले प्रदेश सभाबाट गत बैशाख २४ गते देखि ३० गते सम्म योजना अनुगमन गर्न गएको भन्दै १५ हजार ६ सय २५ रुपैयाँ भुक्तानी लिएकी हुन् । सरकारले लकडाउन गरेको अवस्थामा कुन ठाउँमा योजना अनुगमन भयो भन्ने प्रश्न उठेको छ ।

यस्तै सांसद बमले चैत्र २६ देखि बैशाख १ गते सम्म आफ्नो निर्वाचन क्षेत्रमा कोरोना भाईरसको कारण राहत वितरण कार्यको अनुगमन गर्न गएको भन्दै १३ हजार १ सय २५ रुपैयाँ प्रदेश सभाबाट भुक्तानी लिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी धन बहादुर शेरपुंजा पुनले जानकारी दिए ।

लकडाउनको अवधिभर प्रदेश सभाबाट उनले भत्ता स्वरुप जम्मा २८ हजार ७ सय ५० रुपैयाँ बुझेको भौचार प्राप्त भएको छ । बम कांग्रेसबाट समानुपातिक सांसदको रुपमा प्रदेशसभाको प्रतिनिधि हुन ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा बझाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य देवकी मल्लले समेत लकडाउनको बेला राहत तथा योजना अनुगमन गर्न गएको भन्दै प्रदेश सभा सचिवालयमा भत्ताकोलागि निवेदन दिएकी छन् ।

उनका विल भर्पाई अपुग भएकाले प्रदेश सभा सचिवालयको लेखाले भुक्तानी नदिएको बताएको छ । सांसद मल्ल सार्वजनिक लेखा समितिका सदस्य समेत हुन । लेखा समितिमै बसेर कोरोनाको कहरमा राहतको नाममा भत्ता लिएको भन्दै चर्को आलोचना समेत भएको छ । from:radionrn