विश्वका केही मुलुकहरुमा कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ भने केही मुलुकहरुमा भने तीव्ररुपमा बढिरहेको छ। कोरोना संक्रमण नियन्त्रणतर्फ भएका मुलुकहरुमा लकडाउन खुकुलो बनाउने प्रावधानहरु लागु गरिँदै छन् भने संक्रमण तीव्ररुपमा बढिरहेका मुलुकहरुमा लकडाउनसहित अन्य प्रतिबन्धहरु कडाइ गरिँदै छन्।

रुसमा आइतबार हालसम्मकै दैनिक कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा रुसमा १० हजार कोरोना संक्रमित थपिएका छन् । सबभन्दा धेरै कोरोना संक्रमितको संख्या राजधानी मस्कोमा रहेको छ । मस्कोमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा भने कमी आएको छ ।

हालसम्म रुसमा एक हजार २८० कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि बिहीबार रुसी प्रधानमन्त्री मिखाइल मिसुतिनलाई कोरोना संक्रमण देखिएको थियो भने शनिबार निर्माण मन्त्री भ्लादिमिर यकुसेफलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको थियो ।

रुसमा कोरोना परीक्षणलाई तीव्रता दिइएका कारण संक्रमितहरु धेरै देखिएको बताएका छन् । राजधानी मस्कोमा मात्रै एक दिनमा ४० हजारको कोरोना परीक्षण गरिएको थियो ।

रुसमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ३४ हजार ६८७ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । –बीबीसी