बैशाख १७, २०७७: गत सोमबार जारी भएका दुई अध्यादेश फिर्ता लिइसक्दा पनि विवाद मत्थर नभएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबारका लागि सचिवालय बैठक बोलाएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिए लगत्तै बैठक बुधबार साँझ ५ बजेका लागि बोलाइएको छ ।
राजनीतिक दल फुटाउन सहज हुने गरी ल्याएको अध्यादेशपछि वरिष्ठ नेता माधव नेपाल र प्रचण्ड समूहका नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।
प्रधानमन्त्रीलाई नेपाल र प्रचण्ड समूहका नेताहरुले अप्ठ्यारो पारेपछि बैठक टार्दै आएका थिए। मंगलबार अध्यक्ष ओली र प्रचण्डबीच संवाद भएपछि सचिवालय बैठक बोलाउने समझदारी जुटेको हो।
केही दिन यता नेकपाभित्र देखिएको आन्तरिक विवादका कारण नेकपामा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब बढ्दै आएको छ । नेकपाका २० स्थायी कमिटी सदस्यहरुले लिखित रुपमा अध्यक्षद्वयलाई सामूहिक पत्र बुझाउँदै बैठकको माग गरेका थिए ।
अघिल्लो सोमबार पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्री ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि बढेको विवाद ती अध्यादेश फिर्ता भएसँगै मत्थर हुने ठानिएकोमा त्यस्तो नभएपछि ओली अप्ठेरोमा पर्दै आएका छन् । from:stv






















