विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सेवा तथा पूर्वाधार विस्तार, व्यवस्थापन र चेतना कार्यक्रम व्यापक बनाउँदै लगिएको छ।
पर्याप्त मात्रामा ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ को व्यवस्था गरिएको छ भने कोरोना परीक्षणको दायरा फराकिलो बनाउँदै लगिएको खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।
नेपालको अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवागमनमा कडाइका साथ निगरानी गर्न सशस्त्र प्रहरी बल नेपालका ६५० चेक प्वाइन्ट रहेकोमा अहिले बढाएर एक हजार २१३ कायम गरिएको र २२ हजार जनशक्ति खटिएका छन् । यद्यपि खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आयात नियमित रहेको छ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) द्वारा आइतबार छाउनीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशभरि ३९ हजार ८२४ ‘क्वारेन्टाइन’ र तीन हजार २७ ‘आइसोलेसन’ बेडको व्यवस्थापन गरिएको र १४ हजार ७३१ जना ‘क्वारेन्टाइन’ मा र ‘आइसोलेसन’ मा छन्।
अहिलेसम्म नेपाल–भारत सीमा नाकामा नेपालतर्फ एक हजार ७६ भारतीय र भारततर्फ दुई हजार २० नेपाली ‘क्वारेन्टाइन’ मा रहेकोमा भारतको क्वारेन्टाइनमा रहेकामध्ये रुपन्देही सीमा नाकाबाट २९६ र कपिलवस्तु सीमा नाकाबाट ३५ गरी ३३१ जना नेपाली क्वारेन्टाइनमा राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
त्यसैगरी नेपालको क्वारेन्टाइनमा रहेका १८८ भारतीय नागरिकलाई स्वदेश पठाइएको उनले बताए। सङ्क्रमणको बढी सम्भावना देखिएका क्षेत्रमा कोरोना परीक्षणको दायरा फराकिलो बनाइएको छ।
स्वास्थ्य मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीको छवटा संयुक्त टोलीले प्रदेश २ का २६ स्थानमा स्वाब सङ्कलन गर्ने काम गरिरहेको प्रवक्ता देवकोटाले जानकारी दिए।
६७ प्रकारका ३४२ टन औषधिजन्य स्वास्थ्य सामग्री खरिद गर्न चीनको सरकारी स्वामित्वमा रहेको चाइन सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग एक करोड ८४ लाख मूल्य बराबरको सम्झौता भएको छ।






















