वैशाख ८, काठमाडौं । नेपाली काँग्रेसले आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो, सँगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो भन्दै नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको पछिल्लो कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै व्यवस्थालाई हठात उलंघन गरेको बताएको छ ।
सो पार्टीका सभापति शेरबहादुर देउवाद्वारा सोमवार साँझ जारि गरिएको विज्ञप्तिमा दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति रहेको उल्लेख छ ।
साथै विज्ञप्तिमा कोरोनाको संक्रमणसँग पुरै विश्व एक भएर लडिरहेको अवस्थामा नेपाल सरकारले सोमवार संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जारी गरेको भन्दै त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पूष्टि भएको भनिएको छ ।
सो पार्टिले विज्ञप्तिमा यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो भन्दै यो घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो भनेको छ ।
साथै विज्ञप्तिमा कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको पनि उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसले अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपिल पनि गरेको छ ।






















