काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्व प्रेस संयोजक चेतन अधिकारीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘राजनीतिक दल सम्बन्धि अब जारी हुने अध्यादेशको उपयोग गर्दै एउटा दल सरकारमा प्रवेश गर्ने।’
सत्तारुढ नेकपाको आन्तरिक राजनीतिमा पार्टी फुटाउने सम्बन्धि अध्यादेशले निकै ठूलो हलचल ल्याएको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकपछि पूर्व माओवादीका तर्फबाट मन्त्री बनेकाहरुको छुट्टै बसेको बैठकले पनि त्यो हलचल बुझ्नका लागि बल पुगेको छ।
बैठकपछि मन्त्री बर्षमान पुन खुमलटार जानु र सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरुलाई राजधानी काठमाडौं नछोड्न भनेपछि नेकपामा एक किसिमको भूकम्प आएको हो कि भन्ने आभास भएको छ।
तर पूर्व एमाले नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अहिलेको अध्यादेश नेकपा फुटाउनका लागि नभएको बताउँछन्।
सोमबार बसेको संघीय मन्त्रिपरिषद्ले कुनै पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एक ठाउँको ४० प्रतिशतले सो पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ।
पार्टीका स्थायी कमिटि सदस्यसमेत रहेका पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने नि होइन। ४० प्रतिशतको प्रावधानको लोकतान्त्रिक विशेषता नै हो। अनुशासित बनौं, जिम्मेवार बनौं।’
अविश्वासकाे प्रस्ताव ल्याउन सक्नेे बाटाे खुला भइसकेकाे अवस्थामा प्रधानमन्त्री ओलीलेे याे अध्यादेश नेकपानै फुटाउनकालागि ल्याएका हाेइनन् भन्ने तर्क पूर्व एमालेतर्फ नेताहरुको छ। तर पूर्व माओवादीतर्फका नेताहरु भने निकै झस्किएका छन्। Source : Khabarmanch






















