बैशाख २०७७,३: नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। मंगलबार थप दुई जना भेटिएसँगै संक्रमितको संख्या १६ पुगेको हो।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टका तीनमध्ये दुई जनामा कोरोना पुष्टि भएको थियो । बाँकी एक जनाको पहिलो परीक्षणमा कोरोना पोजेटिभ नदेखिएपछि पुनः परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१६ संक्रमितमध्ये २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, २ जना पाटन अस्पताल, २ जना धौलागिरी अस्पताल, ५ जना सेती अञ्चल अस्पताल र ४ जना नारायणी अस्पतालमा उपचाररत छन्।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको आशंकामा हालसम्म १२ हजार ९ सय ६ जनाको परीक्षण भएको छ । जसमध्ये ६ हजार ६ सय ७ जनाको र्‍यापिड डाइग्नोष्टिक किट र ६ हजार २ सय ९९ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र ३ सय ८७ जना उपत्यका बाहिर १ सय ९७ जनाको कोरोना परीक्षण भएको छ। देशभर गरी हाल ५ हजार ७ सय ५१ जना क्वारेन्टाइनमा राखिएका छन् भने ९९ जना अस्पतालको आईसोलेसन वार्डमा छन् ।

काठमाडौं उपत्यकामा १२ र बाहिरी जिल्लामा ८७ गरी जम्मा ९९ जना आईसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । कोरोनाको परीक्षण अब २१ जिल्लामा मात्र सुरु गर्न बाँकी रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। स्वास्थ्यखबर बाट