कोरोना भाइरस फैलिएसँगै जापानी अर्थतन्त्र चरम अनिश्चयमा

चैत २७, २०७६। जापानी आर्थिक परिदृश्यमाथिको अनिश्चिय अति उच्च रहेको जापानी केन्द्रीय बैंकका गभर्नरले बताएका छन् । कोरोना भाइरसको महामारीका कारण उत्पादन र खपत प्रभावित भएसँगै अर्थतन्त्र चरम अनिश्चियमा पुगेको बैंक अफ जापान (बीओजे) का गभर्नर हारुहिका कुरोदाले बिहीवार बताएका हुन् । अर्थतन्त्रलाई गहिरो मन्दीमा जानबाट रोक्न अतिरिक्त मौद्रिक कदम चाल्न समेत आफू तयार रहेकोमा कुरोदाले जोड दिएका छन् ।

अर्थतन्त्रमा महामारीको प्रभाव कम गर्न र सर्वसाधारण तथा कम्पनीहरुलाई राहत दिन प्रधानमन्त्री सिञ्जो आबे नेतृत्वको सरकारले खर्बौ डलर खर्च गर्ने प्रतिबद्धता गरेको छ । कुरोदाको पछिल्लो अभिव्यक्तिले जापानी अर्थतन्त्रको परिदृश्य र कम्पनीहरुले भोग्नु परिरहेको अप्ठ्याराबारे नीतिनिर्माताहरुको गहिरो चिन्ता उजागर गरेको छ ।

विश्वभर केन्द्रीय बैंकहरुले चालेका आक्रामक कदमका कारण वित्तीय बजारमाथिको तनाव थोरैमात्रै कम भएको छ । तर संस्थागत लगानी अभाव खराब बन्दै गएको कुरोदाले बीओजेको क्षेत्रीय शाखा प्रवन्धकहरुसँग त्रैमासिक बैठकमा बिहीवार बताए ।

कोरोना भाइरसको प्रसारका कारण निर्यात, उत्पादन, विदेशबाट आउने पयर्टक माग र निजी खपत सबै घटेपछि जापानको अर्थतन्त्रमा गम्भीर प्रभाव परिरहेको उनको भनाइ छ । बुधवार मात्रै जापानमा ५०३ नयाँ कोरोना भाइरस संक्रमित देखिएको थियो । यो महामारी शुरु भएयताकै उच्च दैनिक वृद्धि हो ।

सरकारले संक्रमण धेरै देखिएका क्षेत्रमा आपतकालको घोषणा गरेकोले ती क्षेत्रका गभर्नरहरुले मानिसहरुलाई घर भित्रै बस्न र व्यवसाय बन्द गर्न आग्रह गर्न सक्ने कानूनी अधिकार पाएका छन् । विश्वका अन्य देशहरुमा कठोर खालको लकडाउन लागू गरिएको छ ।

लकडाउन उल्लंघन गर्नेहरुलाई दण्ड र जरिवाना समेत तिराइएको छ । तर जापानमा भने साथीभाइको दबाब र सरकारप्रतिको सम्मान गर्ने परम्पराका भरमा छाडिएको छ ।

सरकारसँग महामारीलाई रोक्न बाध्यकारी लकडाउन गर्ने कानूनी अधिकार छैन । जापानी अर्थतन्त्रमा भाइरसका कारण पहिला नै धक्का लागिसकेको छ । कठोर लकडाउनले थप समस्या ल्याउने चिन्ता समेत छ ।

आफ्नो प्रिफेक्चरमा आपतकालको घोषणा गर्ने आईची प्रिफेक्चरकी गभर्नर हिदेइकी ओमुराले बताएका थिए । पर्ख र हेर भन्ने नीति लिँदा लिँदा जापानमा स्थिति भयावह बन्दै गएको समेत उनको भनाइ छ ।

जापानले अन्य देशको तुलनामा कम कठोर प्रतिबन्ध लगाएको भएपनि अर्थतन्त्र यस वर्ष महामारीकै कारण गहिरो मन्दीमा जाने रोयटर्सको सर्वेक्षणले देखाएको छ । बीओजेले मार्चमा मौद्रिक नीति खुकुलो पारेको थियो ।

सरकारी ऋणपत्र, व्यवसायिक पत्र, संस्थागत ऋणपत्र जस्ता सम्पत्ति खरीद बढाउने प्रतिबद्धता समेत बैंकले गरेको छ । अर्थतन्त्रमाथिको आर्थिक झट्का कम गर्न सरकारले भर्खरै १० खर्ब डलरको स्टिमुलस प्याकेज ल्याएको छ ।

यसै महीना बस्ने नीतिगत बैठकमा बीओजेले अर्थतन्त्र खुम्चने प्रक्षेपण गर्ने स्रोतको भनाइ उद्धृत गर्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले एक समाचारमा भनेको छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार