इलाम – इलामको सिङफ्रिङमा रहेको क्वारेन्टाइनबाट गएराति एक युवक भागेका छन्। इलाम नगरपालिकाले व्यवस्थापन गरेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका–३, सुलुबुङका सरोज अधिकारी भागेका हुन्।
बिहानको राति २ बजेतिर क्वारेन्टाइनको झ्यालबाट फाल हानेर उनी भागेका हुन्। भारतको सिलिगुडीबाट आएका अधिकारीलाई गत २३ गते क्वारेन्टाइनमा राखिएको इलाम नगरपालिकाले जनाएको छ। यो क्वारेन्टाइनमा रहेका १० जनाको सुरक्षार्थ १२ प्रहरी परिचालन गरिएपनि प्रहरीलाई छक्याएर उनी भागेको नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहले बताए।
सुलुबुङ घर भएपनि अधिकारी कहिले इलाम नगरपालिका–५, बिब्ल्याँटेतिर, कहिले अरूतिरै बस्ने गरेको वडा–५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठले जनाए।
यता क्वारेटायनबाट युवा भागेपछी इलाम नगरपालिकाको फेसबुक पेजमा भने यस्तो स्टाटस लेखिएको छ
डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनमा राखिएका युवक भागेकोले खोजतलास जारी :
कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि इलाम नगरपालिका वार्ड नं. ६ सिंगफ्रिङ्ग स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइन वार्डमा इलाम अस्पतालको रेफर अनुसार मिति २०७६ चैत्र २३ गतेदेखि राखिएका सरोज अधिकारी चैत्र २४ गते राती भागेका छन् ।
इलाम जिल्लाको सन्दकपुर गाउँपालिका वार्ड नं. ३ सुलुबङ्ग घर भएका निज सरोज अधिकारी भारतको सिलिगुडीबाट हालै घर आएका थिए । निज हालै भारतको सिलिगुडीबाट आएको र निज कोरोना भाइरस सङ्क्रमित हुन सक्ने आशंकामा इलाम अस्पतालले निजलाई क्वारेन्टाइनमा राख्न पठाएको थियो । स्मरणीय छ, भारतको सिलिगुडी क्षेत्रमा केही दिन अघि १ जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको समाचार आएको थियो ।
डा. मेघबहादुर पराजुली सामुदायिक अस्पताल, क्वारेन्टाइन वार्डका इन्चार्ज सि.अ.हे.व. दिपक पौडेलका अनुसार निजको स्वाब परीक्षण भइनसकेको अवस्थामै निज क्वारेन्टाइनबाट भागेको र निज कोरोना भाइरस प्रभावित क्षेत्रबाट हालै घर आएको हुँदा निजको खोजतलास गरी पुनः क्वारेन्टाइनमा नराखे निजले समुदायलाई नै कोरोना भाइरसको प्रकोपमा पार्न सक्ने सम्भावना रहेको बताएका छन् ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले निजलाई कही कतै कसैले देख्नु भएमा तुरुन्त नजिकको वडाध्यक्ष, वडा सदस्य, महिला स्वास्थ्य स्वयम्सेविका वा प्रहरीमा खबर गरी सहयोग गर्न सबैमा आग्रह गर्नु भएको छ भने जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक हीरा पाण्डेका अनुसार प्रहरीबाट निजको व्यापक ढङ्गले खोजतलास भइरहेको बताउनु भएको छ ।
यसैगरी आज चैत्र २५ गते विश्व स्वास्थ्य दिवसका अवसरमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले कोरोना भाइरसको प्रकोपबाट आफू बच्न र अरुलाई बचाउन अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन र स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सुझाव तथा आग्रहलाई परिपालन गरि दिन अनुरोध गर्दै आम नगरवासीहरुमा कोरोना भाइरस महामारीको यस स्वास्थ्य संकटको यस घडीमा धैर्यधारण र सहयोगको लागि आग्रह गर्दै विश्व स्वास्थ्य दिवसको अवसरमा आम नगरवासीहरुमा सुस्वास्थय र आरोग्यताको कामना गर्नु भएको छ ।






















