चैत १९, : बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण मर्नेको संख्या एक दिनमै २७ प्रतिशतले बढेको छ । मंगलवार सार्वजनिक भएको नयाँ तथ्यांकअनुसार सोमवार ४ बजेसम्म त्यहाँका अस्पतालमा मर्नेको संख्या १ हजार ७८९ पुगेको छ ।
आइतवारको तुलनामा यो ३८१ जना धेरै हो । एकैदिनमा मृतकको संख्यामा भएको यो अहिलेसम्मकै ठूलो वृद्धि भएको सरकारले बताएको छ । यो संख्या झट्कालाग्दो, चिन्तत पार्ने खालको भएको मन्त्रीपरिषद् कार्यालय मन्त्री माइकल गोभले बताएका छन् ।
मृत्यु हुनेको संख्या कहिले बढ्छ भन्नेबारे प्रक्षेपण समेत गर्न असम्भव भएको उनको भनाइ छ । भाइरसको संक्रमण नियन्त्रणमा बेलायत शुरुमा सुस्त देखिएको भएपनि साढे २ लाख मानिस मर्न सक्ने प्रक्षेपणले देखाएपछि प्रधानमन्त्री बोरिस जोन्सनले कठोर नियन्त्रण योजना लागू गरेका छन् ।
बेलायतमा भाइरस संक्रमितको संख्या इटली, स्पेन र फ्रान्सको तुलनामा निकै कम भएपनि हरेक साढे ३ दिनमा संख्या दोब्बर भइरहेको छ । करीब २ हप्ता अघि इटलीमा पनि संक्रमित संख्या अहिले बेलायतको जत्तिनै थियो ।
केही दिनको अन्तरालमा संख्या दोब्बर बनेपछि अहिले अमेरिकाबाहिर सर्वाधिक संक्रमित रहेको देश इटली बनेको छ । बेलायतमा पनि यस्तै हुने हो कि भन्ने चिन्ताले बेलायती अधिकारीहरुलाई पिरोलेको छ । from: abhiyan






















