खविन लुइटेल पाँचथर ०९, चैत्र ।। पाँचथर जिल्लाले समेत कोरोना नियन्त्रणको पूर्व तयारीलाई तिब्रता दिएको छ । जिल्लाका विभिन्न स्थानीय सरकार, सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले सचेतनामुलक तथा रोकथामका कार्यक्रमहरु सञ्चालन सुरु गरेका हुन् ।

जिल्लाको तुम्वेवा गाउँपालिकाले आफ्नो गाउँपालिकामा प्रवेश गर्ने नागरिकलाई अनिवार्य तापक्रम जाँच गर्न थालेको छ भने मिक्लाजुङ गाउँपालिकाले नमस्कार गर्ने अभियान सुरु गरेको छ । यि दुइ सहित कुम्मायक र हिलिहाङले विद्युतिय हाँजिरी नगर्न आफ्ना कर्मचारीलाई निर्देशन दिइसकेको छ ।

फिदिम रन नामको गैर सरकारी संस्थाले कोरोना भाइरसबारे जानकारी मुलक पर्चाको साथमा हातधुने सावुन वितरण अभियान सुरु गरेको छ । जिल्ला समन्वय समितिका सभापती विष्णुप्रसाद सापकोटाको संयोजकत्वमा गठन भएका विभिन्न समितिहरुले समेत कोरोना रोकथामको पूर्व तयारीका कामहरु प्रारम्भ गरिसकेका छन् ।

सदरमुकाम फिदिममा समर्पित अस्पतालमा १५ सैयाको क्वारेन्टाइन नेपाली सेना संगको सहकार्यमा निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने राँकेको रहेको रेडक्रस भवनमा फाल्गुनन्द गाउँपालिकाको सहयोगमा क्वारेन्टाइनको लागी १० वटा बेड सञ्चालन गर्ने तयारी गरिएको छ ।

यसका साथै जिल्ला अस्पताल पाँचथर र समर्पित अस्पतालमा समेत केही वेडहरु समेत कोरोना संकास्पद विरामिको लागी ब्यावस्था गरिएको छ । पाँचथर प्रवेशको मुख्य द्धार मानिने राँकेमा सशस्त्र प्रहरी संगको समन्वयमा हेल्प डेस्क समेत स्थापना गर्ने तयारी भएको छ ।

उद्योग बाािणज्य संघले दैनिक उपभोग्य बस्तुमा कालोबजारी हुन नदिन आफ्ना सदस्यहरुलाई सचेत गराउदै आएको छ भने विभिन्न होटल, पसल सहित बैंक तथा वित्तिय संस्थाहरुले स्यानिटाइजर र साबुन पानीले हात धुने ब्यवस्था अनिवार्य गरेका छन् ।

उद्योग बाणिज्य संघका अध्यक्ष दिपक नेपालका अनुसार सम्पूर्ण उपभोक्तालाइ समेत आवश्यकता भन्दा बढी खाद्यान्न भण्डारण नगरिदिन अनुरोध गरिएको छ ।
जिल्ला अस्पताल पाँचथरका डा. बुद्धिबहादुर थापाको संयोजकत्वमा समर्पित अस्पताका डा. पुष्कर निरौला र पाथिभरा अस्पतालका डा. पिके सिंह रहेको कोरोना फोकल टिम समेत गठन गरिएको छ ।

जिल्लामा कोरोना भाइरसका संक्रमण र त्यसको लागी भएको कामबारे सुचना प्रवाहमा समेत एकरुपता ल्याउन एकद्धार प्रणालीको विकास गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताउनुभयो । पूर्व तयारीको क्रममा जिल्लामा मेडिकल सामाग्रीको भने अभाव रहेको बताइएको छ । जिल्लामा टाढैबाट तापक्रम जाँच गर्न मिल्ने (गन थर्मोमिटर) २ थान मात्रै रहेकोले हेल्प डेस्क स्थापना गर्न समस्या भएको सरोकारवालाले टिप्पणी गरेका छन् ।

पाँचथरमा प्रवेस गर्ने हरेक नागरिकको विवरण प्रवेशद्धारमा पुर्ण रुपमा राखेर उक्त नागरिक कहाँ जाने हो ? सो बारेमा सम्बन्धित स्थानीय निकायलाई जानकारी गराइ निगरानीमा राखिने तयारी भैरहेको समेत बताइएको छ । जिल्लामा अभाव रहेका चिकित्सकिय सहितका अत्यावश्यक सामाग्री आपुर्तीको लागि प्रदेश र केन्द्र सरकार समक्ष अनुरोध समेत भैसकेको जिल्ला समन्वय समितिका संयोजक विष्णु प्रसाद सापकोटाले बताउनुभयो ।

यस अघि हिजो बसेको बैठकले जिल्लामा कोरोना भाइरस (कोभिड १९) का संकास्पद बिरामीको उपचारका लागि यहाँ सञ्चालित अस्पतालहरुमा ९० शैया व्यवस्थापन गर्ने निर्णय गरेको थियो । जस मध्ये पाँचथर जिल्ला अस्पतालमा ४०, समर्पित अस्पतालमा ३० र पाथिभरा हेल्थ केयर हस्पिटलमा २० शैया ब्यावस्थापन गर्ने निर्णय भएको थियो ।

सोहि बैठकबाट जिल्लासँग सिमानाका जोडिएका फालेलुङ र याङवरक सहितका स्थानमा उच्च सतर्कताका लागि स्वास्थकर्मी र सुरक्षा निकाय परिचालन गर्ने, अन्तर जिल्ला र छिमेकी मुलुकसँग सिमाना जोडिएका स्थानमा सम्वन्धित स्थानीय तहसँग समन्वय गरी हेल्प डेस्क स्थापना गर्ने र दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि पाँचथर उद्योग बाणिज्य संघलाई जिम्वेवारी दिइएको थियो ।

यसैगरी कोरोना भाइरस ( कोभिड १९) वारे जानकारी मुलक आम सर्वसाधारणमा पु¥याउन पाँचथर जिल्ला अस्पताल प्रमूख डाक्टर बुद्धीवहादुर थापाको नेतृत्वमा ३ सदसीय स्रोत समूह गठन पनि गरेको थियो ।