भारतमा कोरोना भाइरसको संक्रमणबाट मृ*त्यु हुनेको संख्या दुई पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता प्रिती सुदनले दिल्ली अस्पतालमा ६५ वर्षीया महिलाको मृ*त्यु भएको पुष्टि गरेको एएनआइले उल्लेख गरेको छ। मृ*तकमा कोरोना भाइरससँगै डायबेटिज र हाइपरटेन्सन रहेको बताइएको छ।

यसअघि बिहिवार कर्नाटकमा ७६ वर्षीय वृद्धको भाइरसको संक्रमणबाट मृ*त्यु भएको भारतीय संचारमाध्यहरुले जनाएका थिए।

चीनको वुहानबाट फैलिएको भाइरस विश्वभर फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले भाइरसलाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेको थियो। भारतमा हालसम्म ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

केरल राज्यमा सबैभन्दा धेरै १९ जनामा भाइरसको संक्रमण देखिँदा महाराष्ट्रमा १४, हरियाणामा १४, उत्तर प्रदेशमा ११,कर्नाटकमा ६,दिल्लीमा ६, लद्दाखमा ३, राजस्थानमा ३,पंजाब, आंध्रप्रदेश र तमिलनाडुमा एक-एक जनामा भाइरसको संक्रमण देखिएको छ। भाइरसबाट संक्रमित हुनेमा १६ जना इटाली र १ जना क्यानडाका रहेका छन्।

देशभर भाइरसको संक्रमण बढेसँगै भारतले अप्रिल १५ सम्म जारी गरेका सबै भिसा रद्द गरेको थियो। यस्तै दिल्ली,ओडिशा, हरियाणा, महाराष्ट्र लगायत अधिकांश राज्यहरुले विद्यालय र कलेजहरु अप्रिलसम्मका लागि बन्द गर्ने घोषणा गरिसकेका छन्। धेरै राज्यहरुमा सिनेमा हल, सपिङ मल, जिम, मनोरञ्जन केन्द्रहरु समेत बन्द गरिएका छन्।

डब्लुएचओका अनुसार १ सय ३२ देशमा भाइरसको संक्रमण फैलिसकेको छ। १ लाख ३२ हजार ५ सय जनामा हाल विश्वभर भाइरसको संक्रमण देखिएको छ। भाइरसका कारण ४ हजारभन्दा धेरै मानिसको मृ*त्यु भइसकेको छ।