कोराना भाइरसलाई लक्षित गरि संसद बैठक र विद्यालयहरु बन्द गर्न कांग्रेसको माग

नेपाली कांग्रेसका सांसदहरुले संसदका बैठक र विद्यालयहरु बन्द गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले कोराना भाइरसलाई देखाउँदै संसद र विद्यालयहरु बन्द गर्न माग गरेका हुन् ।

प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेकाले संसद बैठक रोक्न माग गर्नुभएको हो । उहाँले विद्यालयहरु पनि बन्द गराउन सरकारसँग माग गर्नुभयो । संसद चलाइराख्नुको तूक छैन भन्दै सांसद प्रधानले स्कुल पनि बन्द गराउन माग गर्नुभयो ।

उहाँले कोरोना भाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्ने अवस्था नभएकोमा पनि ध्यानाकर्षण गराउनुभयो । उच्च सतर्कता अपनाउन नसकेको भन्दै उहाँले सरकारको आलोचना पनि गर्नुभयो । अर्का सांसद भरत शाहले पनि संसदलाई धेरै दिन नचलाउने हो कि भन्दै प्रश्न गर्नुभयो ।

संसदमा बेल्ने विपक्षी दलका अरु सांसदले कोरोना भाइरस लाग्न नदिन सरकारले सतर्कता अपनाउन नसकेको भन्दै आलोचना गर्नुभयो । उनीहरुले स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जनताले आफै क्वारायन्टाइनमा बस्नुपर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो ।

यस्तै प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नेपालमा कोरोना भित्रिए पनि सरकारले तथ्याङ्क लुकाएर राखेको आरोप लगाउनुभएको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो आरोप लगाउनुभएको हो ।

उँहाले नेपालका विभिन्न ठाउँमा कोरोना भाइरसका संक्रमित भेटिएको तर सरकारले यसलाई लुकाइरहेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
भारतले कोरोना संक्रमणलाई मध्येनजर गर्दै सबै देशबाट आउने आगन्तुकको भिसा स्थगित गरेको तर नेपाल सरकारले लापरवाही गरिरहेको प्रति चिन्ता व्यक्त गर्दै नेपालमा जुनसुकै देशबाट आउने व्यक्तिलाई कोरोना नभएको प्रमाणपत्रको आधारमा मात्र प्रवेश मिल्छ भन्दै उँहाले प्रश्र गनुभयो ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले कोरोना भाइरस संग लड्न एउटा विशेष प्लान ल्याउनु पर्ने सझाव दिनुभयो ।

from: radionrn

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार