सरकारले नेपालमा कुनै पनि कोरोना संक्रमित नलुकाइएको स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म ४५० जनाको कोरोना परीक्षण गरिएको र कुनै पनि बिरामी नलुकाइएको बताउनुभएको हो ।
संक्रमित देशबाट आएका मानिसलाई कोरोना नभएको सर्टिफिकेट मागिएको र संक्रमीत क्षत्रबाट आउनेहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने उहाँको भनाई छ ।
देवकोटाका अनुसार ४५० जनामा परीक्षण गरिएकोमा एकजनामा मात्र कोरोना देखिएको छ । ६ जना आइसोलेसनमा भर्ना छन् । टेकुमा चारजना र दुईजना पाटन अस्पतालमा रहेका छन् ।
कोरोना हाल नेपालमा माहामारीको रुपमा नदेखिएको प्रवक्ता देवकोटाले बताउनुभयो । उहाँले काठमाडौमा १५५ वटा आइसोलेसन तयारी अवस्था रहेको र पाटन विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल पहिले नै तयारी अवस्थामा भएको जानकारी दिनुभयो ।
अहिले ४३ नाकामा स्थानीय तहका स्वास्थ्यकर्मीसहित हेल्थ डेक्स स्थापना गरिएको पनि उहाँले जानकारी गराउनुभयो ।
from: radionrn






















