
अर्जुन पौडेल , विराटनगर ।। नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट पिपिसीमा पनि उत्पादन हुने भएको छ । हाल सम्म बन्धन सिमेन्ट ओपिसी र पियससिमा उत्पादन हुँदै आएकोमा अब ग्राहकले पिपिसीमा पनि प्राप्त गर्ने भएका छन ।
पूर्वी नेपाललाई आफ्नो विशेष पकड एरिया बनाएर सिमेन्ट उत्पादन गर्दै आएको नेपाल अल्ट्राटेक सिमेन्टले पिपिसी सिमेन्टमा पनि ओपिसी र पियससि जस्तै गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने बताएको छ । बढ्दो सिमेन्टको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गरी मागको पूर्ति गर्ने उद्देश्यले उत्पादनमा जोड दिएको बताइएको छ ।
बन्धन सिमेन्टको ओपिसी र पिएससि सिमेन्टको अपार सफलता र ग्रहाकहरुबाट बन्धन पिपिसी सिमेन्टको खोजी गरिएकाले खोजिलाई पुरा गर्ने उद्देश्यले उत्पादन सुरु गरिएको कम्पनीका अध्यक्ष मनिष कुमार मारुले बताएका छन् ।
के फरक छ ओपिसी, पिपिसी र पिएससी सिमेन्टमा ?
विश्व बजारलाई हेर्ने हो भने १५ भन्दा बढी प्रकारका सिमेन्टहरूको प्रयोग भएको पाइन्छ । नेपालमा हेर्ने हो भने तीन प्रकारका सिमेन्ट प्रयोगमा आएका छन ती हुन ओपिसी पिपिसी र पिएससी ।
नेपालमा सबैभन्दा बढी प्रयोग हुने सिमेन्ट पिपिसी र ओपिसी हो भने पछिल्लो समय पिएससी सिमेन्ट पनि ग्राहकको रोजाइमा पर्ने गरेको छ ।
पिपिसी सिमेन्ट मा ७७ प्रतिशत क्लिंकर र २३ प्रतिशत अन्य सामग्रीहरू प्रयोग गरिएको हुन्छ । जसले गर्दा सिमेन्ट सेट हुन केही दिन लाग्ने गर्छ । पिपिसी सिमेन्ट घरको प्लास्टर गर्दा र इँटाको गारो लगाउदा बढी प्रयोग गरिन्छ । प्राय बालुवा मात्रै मिसाएर प्रयोग गरिने संरचनामा यो सिमेन्टको प्रयोग गर्नुपर्छ ।
ओपिसी सिमेन्टमा ९८ प्रतिशतसम्म क्लिंकर र २ प्रतिशतसम्म मात्रै अन्य जिप्समहरू प्रयोग गरिने भएकाले ओपिसी सिमेन्टमा क्लिंकरको मात्रा धेरै हुन्छ ।
क्लिंकरको मात्रा पिपिसीमा भन्दा ओपिसीमा धेरै हुने भएकाले यसको पकड शक्ति पनि धेरै हुन्छ र छिटो सेट हुन्छ । यसको प्रयोग घरको ढलान पिलर ढलान र पुल आदि निर्माण चाँडो सक्नु पर्ने अवस्थामा यसको प्रयोग गरिन्छ ।
ढुङ्गा सहितको मिश्रण बनाउनु र्पयो भने ओपिसी सिमेन्ट र बालुवाको मात्रै मिश्रण बनाउनु छ भने पिपिसी सिमेन्टको प्रयोग गर्नुपर्छ । पिपिसी सिमेन्टले नै ढलान गर्दा पनि खासै फरक भने पर्दैन पिपिसी सिमेन्ट सेट हुन बढी समय लाग्ने मात्रै हो । ओपिसी सिमेन्टलाई ढलान गरिसकेपछि तापक्रम मिलाउन ७ दिनसम्म पानी हालेर राख्नुपछ ।
तर पिपिसी सिमेन्टको प्रयोग भएको ठाउँमा बेला बेला पानी हाले पनि पानीमा डुबाएर भने राख्नु पर्दैन । पिएससी सिमेन्टमा ५५ प्रतिशत क्लिंकर, र ४५ प्रतिशत अन्य सामग्रीहरू प्रयोग गरिएको हुन्छ । यसमा क्लिंकरको मात्रा ओपिसी र पिपिसीमा भन्दा कम हुने भएकाले यसले पकड लिन अन्य सिमेन्टको भन्दा बढी समय लिने गर्छ ।
समग्रमा हेर्दा सिमेन्टले पकड लिन लाग्ने समयान्तरलाई सिमेन्टहरू बिचको भिन्नताको रूपमा हेर्न सकिन्छ । कुन सिमेन्ट प्रयोग गर्ने भन्ने विषयमा भने आफ्नो समय र अनुकूलतामा भर पर्ने कुरा हो सिमेन्टले पकड लिइसके पछिको मजबुती भने प्राय उस्तै मान्न सकिन्छ ।