२०७६, १५ फाल्गुन: भारतको नयाँ दिल्लीमा गत आइतबारदेखि सुरु भएको हिंसामा परि मृत्यु हुनेको संख्या २५ पुगेको छ । घटनामा सयौं घाइते भएको समाचारमा जनाइएको छ । घाइतेहरुको दिल्लीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हिजोमात्र प्रदर्शनकारीहरुमाथि भएको सुरक्षाकर्मीको दमनमा ६० जना भन्दा बढीलाई गोली लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरी र अर्ध सैनिक बलले गस्ती बढाएपनि सरकारको विरोधमा भएका प्रदर्शनहरु जारी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन आग्रह गरेपनि प्रदर्शनहरु रोकिएका छ्रैनन् ।
जारी हिंसा नियन्त्रण गर्न असफल भएको भन्दै विपक्षी दलहरुले सरकारको आलोचना गरेका छन् । विपक्ष दल काँग्रेसकी अध्यक्ष सोनिया गान्धीले सरकारले सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री अमित शाहको राजीनामा मागेकी छिन् ।
नागरिकता संशोधन ऐन (सीएए) ले केही छिमेकी मुस्लिम बाहुल्य रहका देशहरुबाट गैर मुस्लिमलाई भारतीय नागरिकता लिन सहज बनाएको छ ।
एजेन्सी






















