फागुन १२, पेचिङ: चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण सोमवार विहानसम्म २ हजार ५९५ जनाको मृत्यु भएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हुपेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट चीन भरी हालसम्म ७७ हजार २६२ जना संक्रमित भएका छन् ।
आइतवार हुपेई प्रान्तको वुहान सहरमा १४९ जनाको मृत्यु भएको छ भने ४०९ जना भाइरसका नयाँ संक्रमित विरामी फेला परेका छन् । उक्त सहरका मात्रै ६४ हजार २८७ जना भाइरस संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै १ हजार ४३९ जना विरामी निको भएर घर फर्किएको स्वास्थ्य आयोगलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
यसैगरी आयोगले चीनकै हङकङमा हालसम्म ७४ जनामा भाइरसको संक्रमण फेला परेकोमा २ जनाको मृत्यु भएको र १२ जना उपचारपछि निको भएको चीनको संचारमाध्यम सीजीटीएनले उल्लेख गरेको छ । त्यसैगरी मकाउमा १० जना र ताइवानमा २८ जना संक्रमित मध्ये एक जनाको मृत्यु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ ।
यसैवीच दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७६३ पुगेको छ । भाइरसको संक्रमण हुनेहरु सवैभन्दा बढी कोरियाको चौथो ठूलो सहर डाएगुको रहेको समाचार संस्था योन्ह्याप न्यूज एजेन्सीले बताएको छ । त्यहाँ मर्नेको संख्या हालसम्म ७ पुगेको छ ।
उक्त सहरमा एकाएक कोरोना भाइरसको संक्रमण दर बढेपछि कोरियन एअरलाइन्सले डाएगु सहरको लागि सम्पुर्ण उडान अनिश्चितकालका लागि स्थगित गरेको छ । एजेन्सी






















