२०७६, ४ फाल्गुन: कोरोना भाइरसको एपिसेन्टर वुहानकी नर्स निङ जु केही समय यता अशान्त अवस्थामा छिन् । स्वास्थ्यकर्मी भएर पनि बिरामीको मद्दत गर्नुको सट्टा उनी घरमा थुनिएर बस्नु परेको छ ।
जनवरी २६ मा छातिको स्क्यान गर्दा उनमा सम्भावित कोरोना भाइरस पाइएपछि उनलाई परीक्षणको अन्तिम नजिता नआउन्जेल घरमै बन्द भएर बस्न भनिएको थियो तर सो रिजल्ट कहिल्यै आएन ।
सिएनएनसँगको कुराकानीमा उनले भनिन्, “अहिलेका लागि यो धेरै ठूलो समस्या बनिरहेको छ । किनकि हाम्रै अस्पतालमा मात्र १०० जना भन्दा धेरै कर्मचारीलाई घरमै क्वारेन्टाइन्ड भएर बस्न भनिएको छ । र यसमा थप तीसजना स्वास्थ्यकर्मीमा पनि भाइरस लागिसकेको पक्का भएको हो ।”
जुको अनुमानमा अस्पतालका झन्डै ५०० स्वास्थ्यकर्मीहरुमा भाइरस देखा परेको छ । वुहानकै अर्की एक नर्सले वेइबोमा लेख्दै यो समस्या असाधारण र अस्वभाविक नभएको बताएकी हुन् । उनका अनुसार उनी काम गर्ने अस्पतालमा पनि उनी सहित १५० भन्दा धेरै सहकर्मी भाइरसको संक्रमणमा परेका छन्।
गत महिना संक्रमित भएदेखि आफ्नो घरभित्रै बन्द रहेकी ती नर्सले मंगलबार मात्र उपचारका लागि अस्पताल भर्ना भएको बताइन् । बुधबार अस्पतालबाटै सामाजिक संजालमा उनले लेखेकी हुन्, “म बसिरहेको तला हाम्रै अस्पतालका सहकर्मीले भरिएको छ ।” उनका अनुसार हरेकपटक उनको परीक्षण गर्न डाक्टर आउँदा उनले आफ्नो सास रोकेर राख्ने गरेकी छन् ।
उनी भन्छिन्, “मलाई म भित्रको भाइरस बाहिर आएर उनीहरुलाई संक्रमित गराउला भन्ने डर लाग्छ जो अझै यस संकटको क्षणमा स्वस्थ उभिएर काम गरिरहेका छन् ।” विगतमा पनि स्वास्थ्यकर्मीहरु यस किसिमको महामारीमा संक्रमणको उच्च जोखिममा रहेका थिए ।
यसका साथै स्वास्थ्य सामग्रीहरुको अभावले पनि हालको संकटलाई झन भयानक रुप दिइरहेको बताइएको छ । भाइरस फैलिएदेखि पहिलोपटक सार्वजानिक रुपमा देखा परेका राष्ट्रपति शि जिनपिङले यसै हप्ता बेइजिङको अस्पताल भ्रमणमा सबै स्टाफलाई यस रोगको नियन्त्रणमा कुनै कसर नछाड्न निर्देशन दिएका थिए ।
तर अझै पनि चिनियाँ स्वास्थ्य निकायले संक्रमित स्वास्थ्यकर्मीहरुको आधिकारिक सङ्ख्या खुलाएका छैनन् जसमध्ये धेरै भाइरससँग लड्दै आफूलाई जोखिममा राखेर काम गरिरहेका छन् । वुहानमा झन्डै ३९८ अस्पतालहरु छन् भने ६ हजार सामुदायिक क्लिनिक छन् जसमध्ये वुहानको नगर स्वास्थ्य आयोगले कोरोना भाइरसको उपचार गराउन नौवटा अस्पताललाई जिम्मेवार दिएका छन् ।
यसमा थप ६१ क्लिनिकलाई पनि सामान्य परीक्षण गराउन भनिएको छ । सो क्लिनिकले ज्वरोका बिरामी हेर्ने गर्दछ । यसरी केही निर्धा्रित अस्पतालहरुमा स्वास्थ्यकर्मीले नै संक्रमित बिरामीको सङ्ख्या बढाइदिएका छन् । जस्तै जोङनान अस्पताल कोरोनाको उपचारका लागि निर्धा्रित ६१ मध्येमा पर्दछ जहाँका ४० स्वास्थ्यकर्मीहरु संक्रमित छन् जुन अस्पताल भर्ना भएका १३८ बिरामीमा तीस प्रतिशत पर्दछन् ।
त्यस्तै अर्को वुहान अस्पतालमा पनि दुई तिहाइ आइसीयु स्टाफहरु स्वास्थ्य सामग्रीको अभावका कारण संक्रमित छन् । यसअघि वुहान सरकारले पनि अस्पतालमा मेडिकल सप्लाइ, जस्तै विशिष्ट नाइन–एन–फाइभ रेस्पिरेटरी मास्क, गगल्स र प्रोटेक्टिभ सुटको अधिक अभाव रहेको स्वीकार गरेको थियो ।
यसबीच वुहानका अस्पतालहरुले सामाजिक संजालमा बारम्बार मद्दतका लागि अपील गरिरहेका छन् । केही समय अगाडि मात्र वेइबोमा पोस्ट भएको एउटा तस्बिरमा वुहानका स्वास्थ्यकर्मीहरुले फोहोर फाल्ने प्लाष्टिकले प्रोटेक्टिभ गियर निर्माण गरिरहेको देखिएको थियो । यसरी मास्क, पन्जा, प्रोटेक्टिभ सुटका साथै स्वास्थ्यकर्मीहरु पनि कामको अत्याधिक धेरै बोझका बीच दबिँदै गएका छन् ।
लामो समय काम गरेर मिटिङ हलमा चियापान गर्ने क्रममा पनि स्वास्थ्यकर्मीहरुबीच भाइरसको संक्रमण फैलने गरेको पाइएको छ । यसमा सरकारले भाइरसबारे समयमै जानकारी बाहिर नल्याउँदा, मेडिकल स्टाफहरु सुरुवाती स्टेजमा सावधानीपूर्वक काम नगरेकाले पनि यस्तो भएको बताइएको छ ।
यसअघि सबैभन्दा पहिले खुलासा गर्ने डाक्टरको भाइरस संक्रमणकै कारण मृत्यु भएपछि सरकारको निर्णयप्रति जनताहरले आक्रोश व्यक्त गरेका थिए । हालसम्म प्राप्त जानकारीअनुसार वुहानमा १७०० मेडिकल स्टाफ संक्रमित छन् ।
(सीएनएनबाट)






















