२०७६, २ फाल्गुन: विश्व स्वास्थ्य संगठनले नयाँ नाम दिएको कोभिड–१९ कोरोना भाइरस झनभन्दा झन फैलिदै गएको छ । कोरोना नियन्त्रणमा नआएपछि चीन सरकारले हुेबेई प्रान्तका उच्च अधिकारीहरुलाई बर्खास्त नै गरेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको हो । भाइरस नियन्त्रण गर्न नसकेको भन्दै चीनले अमेरिकी तथा युरोपेली देशबाट आरोप खेपिरहँदा चीन सरकार पनि कठोर बनेको हो ।

उक्त क्रममा चीन सरकारले सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तका शीर्ष राजनीतिक नेतृत्वलाई जिम्मेवारीमुक्त बनाएको हो ।

भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ३६७ जना पुगेको जनाएको छ । बिहीबार ११६ जनाको मृत्यु भएको छ । नयाँ ४ हजार ८२३ बिरामी फेला परेका छन् ।

जापानमा समेत एक जनाको मृत्यु भएको छ भने ४४ नयाँ बिरामी थपिएका छन् । संक्रमितको संख्या जापानमा मात्रै २१८ पुगेको छ ।
चीन बाहिर ४४७ संक्रमित रहेको पनि बताइएको छ । जापान, फिलिपिन्स र हङकङमा एक एक जनाको मृत्यु भएको छ ।