काठमाण्डौ ।। विश्वका सबैभन्दा धनी व्यक्तिको रूपमा रहेका अमेजन कम्पनीका सीईओ जेफ बेजोसले गत हप्ता अर्बौ डलर सम्पत्ति थप गरेका छन् । यस्तो चमत्कार उनले कसरी गरे भन्ने विषयमा अहिले विश्व चकित परेको छ ।

अमेजन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएसँगै बेजोसले यति ठूलो रकम क्षणभरमै आम्दानी गरेका हुन् । शुक्रबार अमेजनको शेयर मूल्य प्रतिशेयर २ हजार डलर पुगेको थियो ।

बिहीबार आफ्नो त्रैमासिक आम्दानी रिपोर्ट सार्वजनिक गरेको अमेजनले विश्लेषकहरूको अनुमानलाई फेल खुवाएको छ । कम्पनीले उच्च मुनाफा आर्जन गर्न सफल भएको रिपोर्ट सार्वजनिक भएसँगै शुक्रबार अमेजनको शेयर मूल्यमा बढोत्तरी भएको हो ।

यो सँगै अमेजन शुक्रबार पुनः १ ट्रिलियन डलरको कम्पनी बन्न सफल भयो । यसअघि सन् २०१८ मा अमेजन पहिलोपटक १ ट्रिलियन डलरको कम्पनी बनेको थियो । नम्वर वान अर्बपति बेजोसको कुल सम्पत्तिमध्ये अधिकांश हिस्सा अमेजनको शेयरकै रूपमा रहेको छ ।

उनको नाममा कम्पनीको ५ करोड ७५ लाख कित्ता शेयर छ, जुन कम्पनीको १२ प्रतिशत हो । यस अनुसार, शुक्रबार बेजोसको कुल सम्पत्ति १ खर्ब २४ अर्ब डलर पुगेको थियो जसमध्ये अमेजनको शेयरबापतको मूल्य १ खर्ब १५ अर्ब ६० करोड डलर थियो । एजेन्सीको सहयोगमा