कोरोना भाइरसः स्वास्थ्य मन्त्रालय भन्छ ‘परराष्ट्रलाई सोध्नुस्’, परराष्ट्र मन्त्रालय भन्छ ‘स्वास्थ्यलाई सोध्नुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकार अत्यन्त सजग रहेको बताएका बेला मन्त्रालयहरुबीच भने यसको रोकथामबारे समन्वय अभाव देखिएको छ ।

खास गरी चीनमा रहेका नेपालीहरुलाई उद्दार गरेर नेपाल ल्याउने र कोरोनाको संक्रमणबाट जोगाउने विषयमा स्वास्थ्य मन्त्रालय र परराष्ट्रमन्त्रालयबीच समन्वय अभाव देखिएको हो ।

चीनमा रहेका नेपालीलाई कहिले उद्दार गरेर नेपाल ल्याइन्छ भन्ने प्रश्नमा स्वास्थ्यले परराष्ट्र र परराष्ट्रले स्वास्थ्य मन्त्रालयलाई थाहा हुने जवाफ दिएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले चीनमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको बताए पनि कहिले ल्याउने भन्नेबारे अनविज्ञता प्रकट गर्नुभयो । उहाँले यसबारे स्वास्थ्य मन्त्रालयलाई प्रश्न गर्न सुझाव दिनुभयो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीनमा रहेका नेपालीलाई कहिले नेपाल ल्याउने भन्नेबारे स्वास्थ्य मन्त्रालयमा बुझ्न भनेका बेला स्वास्थ्य मन्त्रालयले पनि सो कुरा परराष्ट्र मन्त्रालयलाई नै थाहा हुने जवाफ फर्काएको छ ।

नेपालमा गरिनुपर्ने सतर्कताका उपायहरु स्वास्थ्य मन्त्रालयले गरिरहे पनि चीनबाट उद्दार गरेर नेपाल ल्याउने विषय परराष्ट्र मन्त्रालयलाई नै थाहा हुने स्वास्थ्य मन्त्रालयका सचिवल खगराज बरालले बताउनुभयो ।

उद्दार गरेर ल्याइने सम्भावित कोरोना भाइरसका संक्रमित बिरामीलाई उपचारको जिम्मा नेपाली सेनालाई दिइएको समाचार बाहिरिएका बेला सचिव बराले सो बारे पनि आफूलाई कुनै जानकारी नरहेको बताउनुभयो ।

आक्रमक रुपमा संक्रमण फैलिरहेको कोरोना भाइरसबारे विश्वका विभिन्न मुलुकले उच्च सतर्कता अपनाएका छन् । तर कोरोना भाइरसको उद्गम राष्ट्र चीनको छिमेकी नेपालमा भने यसलाई हुलुका रुपमा लिएको स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीको भनाईले पुष्टि गर्दछ ।

सरकारको यस्तै रबैयाले होला चीनमा रहेका नेपालीहरुले नेपाल सरकार आफूहरुको मृत्यु पर्खिरहेको आरोप लगाएका छन् ।

radionrn

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार