चीनबाट फर्किएका थप दुई नेपालीमा कोरोनाको आशंका

चीनबाट फर्किएका थप दुई नेपालीमा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ। संक्रमणको आशंकामा उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ।

चीनबाट फर्किएका एक महिला र पुरुषमा कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

सरकारले कोरोना भाइरसको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएपछि शुक्रराज अस्पतालमा ६ बेडको आइसोलेसन वार्डको स्थापना गरिएको छ। अस्पतालको तयारी र अवस्था बारे तीन दिन भित्र लिखित प्रतिवेदन बुझाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

चीनको युहान प्रान्तबाट फर्केका एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सरकारले सर्तकता बढाएको हो। पछिल्लो समय चीन, हङकङ, जापान, अमेरिकामा यसको संक्रमण पुष्टि भइसकेको छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ।

(swasthyakhabaru)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार