
माघ ११: चीनबाट अन्य देशहरुमा पनि फैलिन थालेको कोरोना भाइरस नियन्त्रणका लागि थप स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । अत्यन्त धेरै विरामीहरु रहेको वुहानमा ४५० चिनियाँ सैन्य स्वाथ्यकर्मीहरु ल्याइएको सरकारी अधिकारीहरुले बताएका छन् । टोलीमा इबोला र यस्तै भाइरसको संक्रमण नियन्त्रणका लागि अनुभवी व्यक्तिहरु पनि रहेका छन् ।
उनीहरुलाई तीन समूह बनाएर खटाइएको छ । सैनिकको चिकित्सा विश्वविद्यालय, जल सेना र हवाई सेनाबाट टोली बनाएर खटाइएको हो । उनीहरु हवाई यातायातमार्फत् शुक्रवार राती वुहान आइपुगेका हुन् । स्वासप्रस्वास सम्वन्धी विज्ञ, सङ्क्रमण नियन्त्रण विज्ञ, सघन उपचार कक्षमा काम गर्नेहरु टोलीमा रहेका छन् ।
वुहानका अस्पतालहरुमा कोरोना भाइरसका विरामीहरुको भिड लागेको स्थानीय स्वास्थ्यकर्मीहरुले बताएका छन् । ती विरामीहरु निमोनियाका पनि रहेका छन् । शनिवारसम्ममा १हजार २८७ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य अधिकारीहरुले घोषणा गरेका छन् ।
विरामी मध्ये २३७ जना गम्भीर अवस्थामा रहेको बताइएको छ । कोरोनाका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ । संक्रमणलाई नियन्त्रण गर्न स्वयमसेवकहरु पनि परिचालन गरिएको छ ।
रासस/ सिन्ह्वा