चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वभर नै तीव्र रुपमा फैलिइरहेको छ । हङकङ, थाइल्याण्ड लगायतका देशहरु हुँदै यो भाइरस अमेरिकासम्म पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको छ ।
चीनको वुहान शहरमा देखिएको नयाँ कोरोना भाइरस सर्पबाट मानिसमा सरेको पेकिङ्ग जर्नल अफ मेडिकल भाईरोलोजीमा अनुसन्धान प्रकाशित भएको छ ।
प्रकोप फैलिएको बुहानमा सार्वजनिक यातायातमा अस्थायी प्रतिबन्ध लगाइएको छ । झण्डै एक करोड जनसंख्या रहेको बुहान शहरका बासिन्दालाई त्यस क्षेत्र छाडेर अन्यत्र नजान र बाहिरका मानिसलाई त्यहाँ नआउन सरकारले अनुरोध गरेको छ ।
चिनियाँ शहर बुहानमा अनुहारमा लगाउने मास्क किन्नेको लामो लाइन लाग्न थालेको छ । औषधी पसलेहरुले एकजना ग्राहकलाई एउटा मात्रै मास्कको प्याकेट बेच्न थालेका छन् ।
यसबारे विश्व स्वास्थ्य संगठनले अहिलेसम्म स्वास्थ्य आपतकाल घोषण गरिसकेको छैन । केही विज्ञहरुले भने अन्तराष्ट्रिय आपतकाल घोषणा गर्ने बेला भइसकेको बताएका छन् ।
के हो कोरोना भाइरस ?
कोरोना भाइरस जनावर र मानिसबीच सर्ने भाइरस हो । यसले श्वाप्रश्वाससम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने गर्छ । यो भाइरसको संक्रमण भएमा ज्वरो आउने, कसैकसैमा श्वास प्रश्वासमा समस्या आउने र निमोनियाको लक्षण देखिने गर्छ ।
यो भाइरसले फोक्सोको ठूलो भागमा संक्रमण गराई निमोनियाको विकास गर्छ । अन्य संक्रमणमा भन्दा कोरोना भाइरसमा निमोनिया गराउन सक्ने क्षमता बढी हुन्छ । जनावरबाट सर्ने भनिएको यो भाइरस अहिले मानिसबाट मानिसलाई सर्ने भनिएको छ ।
(radionrn)






















