पाँचथर ०७ माघ ।। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी फिदिम शाखाले आज एकै जना विमितका आफन्तलाई ५१ लाख भन्दा धेरै राशीको मृत्युदाबी भुक्तानी गरेको छ ।

गत असोज २६ गते मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएका फिदिम २ निवासी दलकर्ण राईकी धर्मपत्नी इन्दु शुब्बालाई आज शाखाले ५१ लाख ६२ हजार ५ सय रुपैंयाको मृत्युदाबी भुक्तानी गरेको हो ।

नेपाल लाइपm इन्स्योरेन्स कम्पनीको जीबन समृद्धी विमा योजना अन्तर्गत पहिलो किस्ता बापत ३ लाख ५ हजार ५ सय ९५ रुपैंया बिमांक बुझाएर २५ लाख रुपैंयाको बिमा गरेका राईको निधन पश्चात मृत्यु दावी बापत २५ लाख, दुर्घटना मृत्यु लाभ वापत २५ लाख र एक वर्षको बोनस वापत १ लाख ६२ हजार ५ सय गरी यत्तिको रकम उपलव्ध गराइएको शाखा प्रमूख पदम रिजालले जानकारी दिनुभयो ।

यो मृत्यु दावी भुक्तानी हालसम्म जिल्लाकै ठुलो भएको कम्पनीले जनाएको छ । फिदिम स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले सुव्वालाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा मेयर नेम्वाङसँगै नेपाली कांग्रेसका उप सभापति मित्रप्रसाद काफ्ले, उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपाल,मृतक राईका जेठु राजेश शुव्वा र युवा उद्यमी सन्तोष श्रेष्ठ लगायतले जीवन बिमाको महत्ववारे आ आफ्ना धारणा राख्नुभएको थियो ।