
२०७६, ७ माघ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दैछ । सत्तरुढ नेकपाले सभामुखको उम्मेदवार तय गरिसकेको अवस्थामा कांग्रेसले सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा बैठकमा छलफल हुनेछ ।
अहिले केहिबेरपछि संसदीय दलको कार्यलय सिंहदरवारमा बस्ने बैठकले उपसभामुखको उम्मेदवारको पनि टुंगो लगाउने कांग्रेस प्रमुख सचेतक बाकृष्ण खाँडले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
उहाँले उपसभामुखमा काँग्रेसले दावी गरेको र त्यसका बारेमा पार्टी सभापति र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बार्ता भइरहेको पनि बताउनुभयो । सत्ता पक्षले सभामुख लिएपछि प्रतिपक्षी दललाई उपसभामुख दिनुपर्ने माग कांग्रेसले गर्दै आएको छ ।
नेकपासँंगको छलफलपछि उपसभामुखमा सहमति भए सभामुखमा काँग्रेसले उम्मेदवारी नदिने पनि उहाँले बताउनु भयो । नेता खाँणले उपसभामुखमा नेकपाले काँग्रेसलाई समर्थन गरेमा सभामुखमा काँग्रेसले नेकपालाई समर्थन गर्ने बताउनु भएको छ ।
सहमती नभएमा सभामुखमा काँग्रेसले सचेतक पुष्पा भूसाललाई उम्मेदवार बनाउने चर्चा पनि चलेको छ । तर औपचारिक निर्णय भने भइनसकेको नेताहरुले बताएका छन् ।
(radionrn)