मैले सम्मान प्रकट गर्ने एक जना दिदीको एक छोरा छ। हर हमेशा उहाँले निकै गर्व गर्नुहुन्छ छोरी हैन छोरा जन्माएकोमा । कहीँकतै मलाई भेट्नु भयो भने घरमा छोरीलाई एक्लै छोड्नु हुन्न है, जमाना ठीक छैन भन्दै सामाजिक परिवेशको यथार्थबोध गराइरहनु हुन्छ।

सोच्छु परिस्थिति बदलिएको छ, सामाजिक असुरक्षा बढेको छ। दिन प्रतिदिन बढेका हिंसाका घटनाले उहाँलाई निकै चिन्तित बनाएको छ र मलाई सजक गराइरहनु भएको छ।

फेरि मनमा नभएको अशान्ति, उहाँकै भनाइका कारणले निम्तिन्छ। भेटेपिच्छे यसरी दिने अर्तिले मनमा नजानिँदो एउटा त्रासले डेरा जमाउन थाल्दो रहेछ।

मान्छे स्वयमको मनोवल कति उच्च र कति कम छ भन्ने कुरा ऊ बाँचेको समाजले पनि निर्धारण गर्दोरहेछ। जति नै आफूलाई सुरक्षित र आत्मविश्वासका साथ प्रस्तुत गर्न खोजे पनि आफू बाँचिरहेको समाज नै सुरक्षित छैन भने ऊ त्यो परिस्थितिमा बलियो छु भन्नु कोरा कल्पना मात्रै हो।

यो समाजमा महिला कति असुरक्षित छन् भन्ने कुराको दृष्टान्त दिइरहनुपर्छ भन्ने लाग्दैन। हरेक दिन सामाजिक सञ्जालमा जोडिएका र रेडियो, अखबार, टेलिभिजन हेर्नेहरूका लागि क्षणिक जिव्रो टोकाइको विषय मात्र बन्न थालेको बलात्कार हत्याका समाचार।

क्षणभरमै मानवीयता र संवेदना हराउँछ।

‘हरेक दिन उही कुरा,उस्तै घटना, के नै नौलो भयो र?’ मनोरञ्जनका खुराक जसरी बिकेका हिंसा,बलात्कार घटनाका समाचारहरूले अब पीडितले न्याय पाउने र समाजले सकारात्मक धारणा बनाउला भन्ने आशा कसरी गर्न सकिएला खै?

लामो समयदेखि महिला हिंसाविरूद्धको विषयमा लेखिरहँदा र बहस पैरवीमा जुटिरहँदाको केही अनुभवले निकै सोचमग्न बनाउँछ। उत्तरविहीन तरिकाले।

केही समय पहिलाको एउटा प्रसंगले समाजमा विभेदको जरा कसरी गाडिएको रहेछ भन्ने कुरा जोड्न चाहन्छु। दुई छोरा पाएकी एक महिला मित्रले निकै गर्व साथ भनेकी थिइन्, ‘अब छोरी जन्माउन निकै डर भो। एक्लै छोड्न पनि डर, कहीँ कतै पठाउन पनि डर। छोरा भएपछि यस्ता कुरामा चाहिँ ढुक्क हुने रहेछ।’

एकछिन गम खाए उनका कुरामा।

पढेलेखेकी कहिलेकाहीँ यसो कलम चलाएर महिलाको विषयमा दुई चार शब्द पनि कोरे जस्तो गर्ने ती मित्रले आफूलाई समाजमा कुन दर्जाको महिलामा राखिन् कुन्नी मैले ठम्याउन सकिनँ। छोरीका लागि असुरक्षित ठान्ने उनले किन सोचिरहेकी छैनन् समाज छोराहरूको कारणले पनि असुरक्षा बढाएको छ भनेर।

एक अभिभावकका छोरी पीडित भइरहँदा अर्का अभिभावकका छोरा पीडक भएका छन्। जन्मदानै छोरीलाई लक्ष्मी भनेर विशेषण दिने यो समाजले छोरा जन्मँदा राम, लक्ष्मण कृष्ण जन्मे भनेर विशेषण दिएको सुनिँदैन।

पहिलो सन्तान छोरी भएपछि सहानुभूति राखेर चित्त बुझाउ भन्न खोजिएका दुर्गा, लक्ष्मी, सरस्वतीका उपमा दिइरहँदा के छोरी त्यही हुर्काइमा बाँच्न पाएकी छिन् त? छोरा भए ढुक्क भयो भनेर सुत्केरी भएकै दिनदेखि गरिने व्यवहारले छोरा र छोरी जन्माउने आमाबीचको खाडललाई बढाइ रहेको छ। कमजोर र बलवान् सावित गरिरहेको छ।

समाज बदल्न सबभन्दा पहिले सोच बदल्नु पर्छ, शब्द बदलेर हुँदैन।

उनलाई लागिरहेको छ समाजमा छोरीमाथि हिंसा हुन्छ, बलात्कार हुन्छ, कोखदेखि काखसम्मको हरेक विभेदको शिकार महिला हुन्छे। फेरि उनको दिमागले यो किन स्वीकारी रहेको छैन त्यो छोरी बलात्कार गर्ने पुरुष हो। छोरा जन्मदैमा गर्व गर्नुपर्ने र छोरी जन्मँदामा धिक्कार गर्नुपर्ने स्थिति सृजना हुनुमा दोषी को?

कहाँनिरबाट त्यो तत्वले भूमिका खेलिरहेको छ भन्ने कुराको खोजीमा हामीले ध्यान दिएका छैनौं। एउटा अभिभावक आफ्नो छोरी बुहारीमाथि भएको आततायी व्यवहारबाट प्रताडित भइरहँदा अपराधमा संलग्न पुरुष पात्रका अभिभावक पनि अपराधको दोषी करार बनेर समाजमा अघोषित सजाय भोगिरहेका हुन्छन्।

हिनताबोधले शिर झुकाउन बाध्य भएका हुन्छन्। कुसंस्कारी सन्तान जन्माएकोमा पश्चातापबाट भित्रभित्र जलिरहेका हुन्छन्। केही समय पहिला स्याङ्जामा आफ्नै काकाबाट बलात्कारमा परेकी बालिकाले सबै सत्य आमालाई भन्दा पनि उनले त्यसविरूद्ध आवाज बाहिर ल्याउन सकिनन्।

यतिसम्मकी बुवालाई समेत सत्य भन्ने आँट गरिनन्। यौनांगबाट रगत बगिरहेपछि रजस्वला भएको भन्दै अस्पताल पुर्याइन्। डाक्टरले रजस्वला नभई बलात्कार भएको बताएपछि उनले बल्ल सत्य बाहिर ल्याइन्।

झट्ट सुन्दा आमाप्रति धेरैलाई आक्रोश हुन सक्छ किनकी छोरी माथिको अपराधमा आमाको मौनता सह्य विषय होइन। तर ती आमा झूट बोल्नु पर्ने बाध्यता पछाडिको कारणको खोजी समाजले गर्दैन।

आज पनि बलात्कार हिंसामा परेका महिला बालिकामाथि समाजको दृष्टिकोण निकै नकारात्मक छ। क्षणिक दयामायाको पात्र बनाइन्छ तर सामाजिक रूपमा अघोषित बहिष्कार गरिन्छ।

पीडितका मानव अधिकारको पक्षमा आवाज उठाएर मनोबल उच्च बनाउनुभन्दा दया र सहानुभूतिको पात्र बनाएर अगाडि राम्रो र पछाडि घृणाको दृष्टिले हेर्ने गरिन्छ।

एकचोटि बलात्कारमा परेकी बालिकालाई समाजले बाँचुञ्जेल बलात्कार पीडितको नजरले हेरिदिन्छ। जसले गर्दा साहस बटुलेर जगाएको आत्मविश्वासलाई पनि कमजोर बनाइदिन्छ।

अनि आमा मुटुमाथि ढुङ्गा राखेर सत्य लुकाएर छोरी बाँचिरहने समाजमा यथार्थ नआओस् भन्ने कसरतमा लागिपर्छिन्। छोरी बाँचिरहँदा थप कुनै मानसिक पीडा भोग्नु नपरोस् भन्ने तर्फ उनको सोचाइ पुग्दछ।

त्यसैले आमा न्याय नलड्दै, हार स्वीकार गरेर बस्न बाध्य हुन्छिन्। साँझ अलि ढिलो छोरी घर आउँदा अनेक तर्कना पालेर छटपटीमा रहने अभिभावकले छोरो घर ढिला आउँदा वा नआँदाको छटपटी खासै देखिँदैन। छोरा हो केही हुँदैन भनेर सहज रूपमा लिने प्रवृत्ति छ।

स्वतन्त्रतासहित स्वच्छन्दताले जगाएको आत्मबलको उचाइले छोरा कल्पना बाहिरको अपराधमा जोडिरहेको पत्तै पाउँदैन। एकोहोरो छोरीमाथि केही हुन्छ कि भन्ने त्रासमा रुमलिरहन्छ।

छोरी कतै कुनै कारणवश ढिला घर आउँदा झस्किरहने अभिभावकले छोरा पनि कही कतैबाट ढिला आँउदा पनि उसको आनिबानीप्रति शंका गर्नु पदैन? छोरीलाई साँझ परेपछिको रात असुरक्षित ठान्ने समाजले त्यो रातमा छोराको खोजीलाई पनि उत्तिकै ध्यान किन दिँदैन।

कडा कानुनले अपराध रोक्छ भन्ने एउटा मान्यता होला तर शतप्रतिश सत्य पक्कै होइन। मृत्युदण्ड दिने मुलुकमा पनि यौन हिंसा र अपराधका घटना भइरहेका छन्।

मात्रामा तल माथि हुन सक्छ। कानुन कार्यान्वयको पक्ष पनि अर्को पाटो हो। मुख्य कुरा यौन हिंसाका घटना हुन नदिन के गर्नुपर्छ भन्ने नै हो। महिलामाथि भएको हिंसाको घटनालाई पुरुषवादी सोचले हेरेर नजर अन्दाज गरिरहँदा यो सामाजिक रोगको रूपमा फैलिएको छ र जुनसुकै बेला मेरो घर परिवारमा पनि सर्न सक्छ भन्ने कुराको बोध हुन जरुरी छ।

पीडितप्रति सहानुभूति बटुल्न मात्र तम्तयार हाम्रो मानसिकता अब कसैलाई पीडक हुनबाट जोगाउने अभ्यासको खोजीमा पनि तल्लिन हुनुपर्छ।

from:setopati.com