नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार मध्ये पाँच हजारको मात्रै आफूले जिम्मा लिने बताउनुभएको छ । २०५२ सालबाट सुरु भएको तत्कालीन सशस्त्र द्वन्द्वको नेतृत्व गरेका दाहालले राज्यतर्फबाट १२ हजार मारिएको तर अहिले एकपक्षीय रुपमा आफूलाई दोष लगाइनु न्यायोचित नहुने बताउनुभयो ।

टुँडिखेलमा आयोजित माघि महोत्सव उद्घाटन समारोहमा प्रचण्डले अरुले गरेको गल्तीको दोष पनि आफ्नै थाप्लामा पारिएको गुनासो गर्नुभयो । कार्यक्रममा प्रचण्ड भन्दा अघाडि बोलेका वक्ताहरुले १७ हजार मान्छे मारेर आएकाहरुले पनि जनतालाई निराशा बाहेक केही दिन नसकेको गुनासो गरेका थिए ।

त्यसपछि आफ्नो मन्तव्यका क्रममा दाहालले १७ हजार मान्छे मारेर आएका भन्ने तथ्याङक सच्याइनुपर्ने धारणा राख्नुभयो । प्रचण्डले भाषण गरिरहँदा उपस्थित नागरिकहरुले भने होहल्ला गरेर विरोध जनाएका थिए ।

तत्कालीन विद्रोही माओवादीलाई १७ हजार मान्छे मारेर सत्ताको सिंहासनमा उक्लेको आरोप नयाँ भने होइन । प्रचण्डले जनयुद्धका क्रममा भएका राम्रा नराम्रा सबै घटनाको जिम्मेवारीबाट आफू नभागेको बताउँदै आएपनि १७ हजार मान्छे मारेको आरोपबारे भने पहिलो पटक मुख खोल्नुभएको हो ।

यसअघि २०७४ बैशाखमा भएको स्थानीय तहको निर्वाचनका क्रममा चितवनमा आयोजित चुनावीसभामा तत्कालीन एमालेका अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माओवादीलाई १७ हजार मान्छे मारेर नपुगेको भन्दै आक्रोश पोख्नुभएको थियो ।

हाल तत्कालीन माओवादी र एमाले पार्टी एकीकरण गरेर नेकपाका रुपमा स्थापित छन् । तर माओवादी विद्रोहको नेतृत्व गरेका प्रचण्डलाई १७ हजार मान्छे मारेर सत्तारोहण गरेको आरोपले हैरान पार्न छोडेकै छैन ।

आजको माघि महोत्सवका क्रममा पनि वक्ताहरुले सोही आरोप लगाएपछि प्रचण्डले १७ हजार मारेको बारे मुख खोल्दै सबै दोष आफूलाई लगाए न्यायोचित नहुने बताउनुभएको हो । टुँडिखेलमा उपस्थित थारु समुदायले भाषणका क्रममा होहल्ला गर्न थालेपछि प्रचण्डले रेशम चौधरीलाई आफूले रिहाइ गरेरै छाड्ने र आफूले थारुका लागि गरेको संघर्ष नभुल्न अपिल गर्नुभयो ।

प्रचण्ड अहिले नेपालको राजनीतिको केन्द्रमा छन् । १२ वर्षसम्म चलेको जनयुद्धको नेतृत्व गरेका प्रचण्डले द्वन्द्व पीडितहरुलाई न्याय दिलाउने कार्यमा जति ढिलो गर्नेछन् १७ हजार मान्छे मारेको आरोपले उनलाई त्यति नै धेरै पोल्नेछ ।

हिजोका शासकहरुले के गरे भन्ने उदाहरण दिँदै न्याय दिने जिम्मेबारीबाट भाग्न खोजे प्रचण्डको राजनीतिक जीवन सफल मानिने छैन ।

(radionrn)