२०७६, २१ पुष : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा मनाङ र मछिन्द्रले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । रोमान्चक बनेको खेलमा मनाङका लागि फेमी जोसुवा र विमल रानाले एक एक गोल गरे । मछिन्द्रका सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले एक एक गोल गरे ।

मछिन्द्रसँगको बराबरीसँगै मनाङले पाँच खेलमा ११ अंक जोडेको छ । र, मनाङ शीर्ष स्थानमा यथावत रहेको छ । यस्तै पाँच खेलमा १० अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा पाएको अवसर गुमाउदा दुबै टोलीले १–१ अंक बाडेका हुन् । दुबै टोलीले गोलको अवसर बनाएपनि गोल गर्न चुकेका थिए ।

यो बराबरीसँगै जावलाखेलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । चौंथो स्थानको जावलाखेलले ४ खेलमा ९ अंक जोडेको छ । आठौं स्थानको एनआरटीले ४ खेलमा ५ अंक जोडेको छ ।

(radionrn)