२१ पुष सोमबार : नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै स्थानीय तहमा निर्वाचित दुई जना आजबाट लागु हुने गरी पदमुक्त भएका छन् । कांग्रेसले निर्वाचन आयोगमा दिएको जानकारी अनुसार उनीहरु पदमुक्त भएका हुन् । निर्वाचन आयोगले आज सार्वजनिक सूचना जारी गरी सो सम्बन्धी जानकारी गराएको छ ।
आयोगद्वारा आज जारी गरिएको सूचनामा भनिएको छ–आयोगको मिति २०७६ पुस २०को निर्णयानुसार राजनीतिक दल सम्बन्धी ऐन २०७३को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४को नियम २२ बमोजिम् दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय कार्यसमितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने भन्ने कानुनी व्यवस्था बमोजिम् जानकारी आएको उल्लेख छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयसहित सम्बत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट दार्चुला जिल्ला मार्मा गाउँपालिका वडा नं ३को वडा अध्यक्ष पदमा निर्वा्चित महादेव सिंह बडाल र पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं १४को दलित समुदायको तर्फबाट वडा सदस्य पदमा निर्वाचित तेजमाया विक कामीले दल त्याग गरेको विवरण आयोलाई पठाएपछि आयोबाट पत्र जारी भएको हो ।
कांग्रेसबाट स्वतः पद रिक्त भएको भनी लेखी आएको हुँदा सोही नियमावलीको नियम २२ को उपनियम २ र ३ बमोजिम निजहरुले दल त्याग गरेको र त्यस्तो पद स्वतः रिक्त भएकोले उक्त पदहरु सूचना प्रकाशन भएको मितिदेखि रिक्त भएको मानिने हुँदा यो सूचना प्रकाशन गरिएको आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
(radionrn)






















