२०७६, २० पुष। काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिक जिल्ला प्रशासन कार्यालयमा एक/एक हजार जरिवाना तिरेर थुनामुक्त भएका छन्।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो।

सो कसुरमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनहीँ एक हजार रूपैयाँ जरिवाना हुने फैसला गरेका थिए। उनीहरूले एक हजार रूपैयाँ तिरेपछि प्रहरीले चिनियाँलाई थुनामुक्त गरेको छ।

उनीहरूलाई अध्यागमन विभागमा बुझाउने तयारी थालिएको परिसरले जनाएको छ। आइतबार नै उनीहरूलाई अध्यागमनको जिम्मा लगाइने बताइएको छ।