सभामुखको उम्मेदवार टुंगो लगाउन नेकपामा कसरत

२०७६, १५ पुष । सत्तारुढ दल नेकपाले सभामुखका लागि उम्मेदवार तय गर्न आज दिनभरी अन्तरिक छलफल गर्नेभएको छ । नेकपाले उम्मेदवार तय गर्न नसक्दा संसदको बैठक अनावश्यक रुपमा स्थगित हुदै आएकाले आज उम्मेदवारको टुंगो लगाउनै पर्ने दवावमा नेकपा रहेको छ ।

उम्मेदवारको टुंगो लगाउन नेकपाका नेताहरुले दुई पक्षीय तथा बहुपक्षीय छलफल गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।
नेकपामा तत्कालिन एमाले पक्षबाट उम्मेदवार बनाउने की तत्कालिन माओवादीको पक्षबाट उम्मेदवार बनाउने भन्ने बारेमा विवाद रहेको छ ।

तत्कालिन एमालेले अनुभवी र प्रभावकारी कार्यसम्पादन गर्न सक्ने भएकाले पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्लाई नै उम्मेदवार बनाउन उपयुक्त हुने दावी गरेको छ भने तत्कालिन माओवादी पक्षले भने निवर्तमान सभामुख आफ्नो पक्षको नेता भएकाले नयाँ सभामुख पनि आफ्नो पक्षबाटै बनाउनु पर्ने अडान राखेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच यस विषयमा आज छलफल गरेर निश्कर्ष निकाल्ने तयारी भएको छ । पुर्व माओवादी पक्षधर नेताहरुले सभामुख आफुहरुले नपाएमा पार्टीभित्रको आन्तरिक सन्तुलनमा समस्या आउने चेतावनी दिदै सभामुख नछाड्न अध्यक्ष प्रचण्डलाई दवाव दिएका छन् ।

सभामुख चयनमा सहमति नभएकै कारणले पुस ११ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक भोलीसम्मका लागि स्थगित भएको थियो । भोलीको बैठकमा सभामुख चयनको कार्यतालिका पेश गर्ने तयारी भएकाले भोलीसम्ममा सभामुखको उम्मेदवार टुंगो लगाउन नेकपालाई दवाव परेको छ ।

उपसभामुख शिवमाया तुम्बाहङफेले पनि सभामुखमा आफ्नो स्वभाविक दाबी रहने बताउँदै आउनु भएको छ ।
संसद सचिवालयकी एक महिला कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेर तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १३ गते राजिनामा दिएपछि सभामुख पद खाली रहेको छ ।

(radionrn)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार