नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति तोकेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले बहुमतका आधारमा आफ्नो म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ । बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति घोषणा गरेको हो ।
कांग्रेसको वर्तमान कार्यसमितिको म्याद यही फागुन १९ मा सकिँदैछ । तर कार्यसमितिको म्याद सकिनेवित्तिकै महाधिवेशन गर्न नसक्ने ठहर गर्दै बैठकले विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि २० फागुनदेखि लागू हुने गरी एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ ।
बैठकले १४ औं महाधिवेशनको कार्यतालिका पनि बनाएको छ । त्यसअनुसार अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई भनेको छ भने माघबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुनेछ । यो वैशाखमा सकिनेछ ।
कार्यतालिकाअनुसार नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नुपर्ने अवधि ०७७ आश्विन मसान्तसम्म तोकिएको छ । त्यसपछि अधिवेशनहरु शुरु हुनेछ ।
सबैभन्दा तल्लो कमिटी वडा तहको अधिवेशन ९ मंसिर २०७७ मा हुनेछ ।
वडा अधिवेशन- २०७७ मंसिर ९ गते
गाउँ/नगरपालिका अधिवेशन- २०७७ मंसिर ११ गते
प्रदेशसभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १५ गते
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १७ गते
जिल्ला अधिवेशन – २०७७ मंसिर २५ गते
प्रदेश अधिवेशन- २०७७ पौष १५ गते
केन्द्रीय महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौं ।






















