दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्सबिच प्रतिस्पर्धा हुँदैछ ।
अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गएको वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर पिपिएलको उपाधि पहिलो पटक जित्ने लक्ष्यसहित मैदानमा जाने छन् ।
चितवनले जारी प्रतियोगितामा समूह चरणका पाँचवटै खेलमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो भने विराटनगरले प्लेअफमा पुग्न कठिन सङ्घर्ष गर्नुपरेको थियो ।
नेट रनरेटमा काठमाडौँभन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । लिग चरणका पाँच खेलमध्ये तीनमा विराटनगर पराजित भएको थियो भने दुई खेलमा जित हाँसिल गर्न सफल भयो ।
पोखरा रङ्गशालामा शुक्रबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले आफ्नो तर्फबाट गल्ती कम गर्दै उपाधि जित्ने लक्ष्यसहित मैदानमा जाने बताए ।
चितवनका कप्तान पारस खड्काले पाँच खेलमा हाँसिल गरेको सफलतालाई फाइनलमा समेत निरन्तरता दिने गरी प्रतिस्पर्धामा उत्रिने लक्ष्य रहेको बताए ।
विराटनगरका कप्तान प्रदीप ऐरीले फाइनल खेल्ने टोली बलियो रहेको तथा आफ्नो टोलीले पछिल्ला खेलमा सुधार गरिरहेकाले मैदानमा गल्ती कम गर्दै उपाधि जित्ने गरी खेल्ने बताएका छन् ।
मंसिर २९ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले २७ लाख तथा उपविजेताले १० लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी, ब्याट्सम्यान तथा बलर गरी तीन जनालाई जनही एक–एक थान टिभिएस मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिताको ‘मोस्ट भ्यालुयबल’ खेलाडीलाई एक लाख तथा ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
चितवन र विराटनगरसहित साविक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न ६ शहरका ६ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका छन् ।
(देश सञ्चार)






















