काँग्रेस बैठक आज पनि अन्यौलमा, नेताहरु गुठ बैठकमा केन्द्रीत

२०७६, ११ पुष शुक्रबार – बैठकको एजेण्डाकै बारेमा सहमती हुन नसकेर पटक पटक स्थगित भएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि अनिर्णीत नै हुने देखिएको छ । सहमतीका लागि भन्दै बैठक स्थगित गर्दै पछाडी सारिएपनि अहिलेसम्म सहमती हुन नसकेकाले आजको बैठक पनि अनिर्णीत हुने देखिएको हो ।

महाधिवेशनको प्रक्रिया तत्काल थाल्ने विषयलाई बैठकको एजेण्डा बनाउने की नबनाउने र पार्टीको विभागहरु गठन गर्दा भागबण्डा कसरी गर्ने भन्ने विषयमा नेताहरुबीच विवाद रहेको छ । पटक पटक दुई पक्षीय तथा बहुपक्षीय रुपमा नेताहरुका बीचमा छलफल भएपनि अहिलेसम्म ठोस सहमतीमा पुग्न नसकेको नेताहरुले बताएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी फागुनमा आफ्नो कार्यकाल सकिएपनि एक बर्ष म्याद थपेर महाधिवेशन गर्ने र त्यसका लागि अहिले नै हतार गर्नु नपर्ने अडान राख्नु भएको छ । तर देउवा इतरका नेताहरुले भने म्याद थप्ने भएपनि महाधिवेशनको कार्यतालिका अहिलेको बैठकबाटै पारित गरेर कार्यान्वयन गर्नुु पर्ने माग राखेका छन् ।

त्यसैगरी सभापति देउवाले निर्वाचित भएको तीन महिनामा गठन गरिसक्नु पर्ने विभागहरु अहिले गठन गर्ने तयारी गर्नुभएको छ भने अन्य नेताहरुले महाधिवेशनको मुखमा विभाग गठन औचित्यपूर्ण नभएको दावी गर्दै आएका छन् ।असन्तुष्ट पक्षले विभाग गठन गर्ने नै हो भने गठन गर्न बाँकी अन्य निकायहरु पनि एकैचोटी गठन गर्नु पर्ने र त्यसमा भागबण्डा गर्नु पर्ने सर्त राखेका छन् ।

विवादित विषयमा अहिलेसम्म पनि सहमती हुन नसकेकाले एकातिर केन्द्रीय समितिको बैठक नै अन्यौलमा परेको छ भने नेताहरु गुठ बैठकमा सिमिति भएका छन् ।

(radionrn)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार