राष्ट्रपतिले राजनीति गर्न खोजिन्, प्रधानमन्त्रीको मौनता ‘खतरनाक’

राष्ट्रपति विद्या देवी भण्डारीले संवैधानिक गरिमा विपरित राजनीतिक गतिविधि गर्न थालेको भन्दै राजनीतिक वृतमा चर्चा परिचर्चा सुरु भएको छ । संविधानले दिएको अधिकार भन्दा बाहिर गएर राष्ट्रपतिबाट राजनीतिक व्यवहार हुन थालेको र यसमा प्रधानमन्त्रीको मौनताले झनै खतरनाक संकेत दिएको भन्दै चिन्ता पनि व्यक्त गरिएको छ ।

सत्तारुढ दलका नेताहरुले नै राष्ट्रपतिको भूमिका शंकाष्पद भएको सार्वजनिक टिप्पणी गरेका छन् । नेकपाका नेता भीम रावलले राष्ट्रपति भण्डारीबाट संविधान विपरित गतिविधि भइरहेको र यो मुलुकका लागि चिन्ताजनक विषय भएको बताउनुभयो ।

केही समयअघि भएको मन्त्रीपरिषद् पुनर्गठनअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शितल निवासमा छलफल गर्नुभएको थियो ।

उक्त भेटबारे चर्केको विवाद नसेलाउँदै हिजो पार्टीको स्थायी कमिटि बैठक चलिरहेका बेला केही प्रभावशाली नेताहरुलाई शितल निवास बोलाएर राष्ट्रपतिले भोज खुवाएपछि राजनीतिक तरंगको छाल झनै फैलिएको छ ।

यस विषयमा स्थायी समिति बैठकमै अध्यक्ष दाहालले गम्भीर आपत्ति प्रकट गर्नुभएको थियो । बैठकमा राष्ट्रपतिलाई भेटेर आएका नेताहरुले पूर्वनिर्धारित छलफल भएको बताएका थिए । संविधानको अधिनमा रहनुपर्ने राष्ट्रपतिले पदीय मर्यादा विपरित राजनीति गर्न थालेको भन्दै बैठकमा चर्काचर्की परेको थियो ।

यो घटनाबारे सत्तारुढ दलसँगै अन्य राजनीतिक दलहरुभित्र पनि व्यापक चर्चा भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वर्तमान राष्ट्रपति ‘राष्ट्र’को राष्ट्रपतिको भूमिकामा नभएर पार्टीको राष्ट्रपतिको भूमिकामा देखिएको र संवैधानिक भूमिकामा निष्पक्ष रुपले बस्न नचाहने लक्षण देखिएको टिप्प्णी गर्नुभयो । उहाँले राष्ट्रपतिबाट मुलुकको राजनीतिक वातावरण बिग्रेको दाबी गर्नुभयो ।

यता प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले भने राष्ट्रपतिले सामान्य भेटघाट गर्नुलाई आपत्तिको विषयका रुपमा बुझ्न नहुने बताउनुभयो । तर राष्ट्रपति भण्डारीको सक्रियता राजकीय रुपमा हुन थाल्यो भने त्यो गम्भीर र खतरनाक हुने उहाँको टिप्पणी छ ।

यता राजनीतिक विश्लेषकहरुले पनि राष्ट्रपति भण्डारीको गतिविधिलाई खतराको घण्टीका रुपमा बुझेको बताएका छन् । प्रधानमन्त्रीबाट हुनुपर्ने छलफल र परामर्षको काम राष्ट्रपतिबाट हुन थाले पनि प्रधानमन्त्री मौन बस्नुमा रहस्य लुकेको राजनीतिक विश्लेषक पुरन्जन आचार्यले बताउनुभयो ।

राजाको शासनका बेला राजदरबार र सिंहदरबार गरी दुई ठाउँबाट सत्ता सञ्चालन हुने गरेको प्रसंग झिक्दै उहाँले अहिले पनि मुलुकमा सिंहदरबार र शितल निवास गरी दुई ठाउँबाट सत्ता सञ्चालनको सुरुवात हुन थालेको बताउनुभयो ।

नेपालमा संवैधानिक राष्ट्रपति र कार्यकारीणी प्रधानमन्त्रीय शासन पद्धति छ । तर मन्त्रीपरिषद् पुनर्गठनअघि राष्ट्रपतिको सक्रियता र अहिले सत्तारुढ दलको स्थायी कमिटि बैठक चलिरहँदा प्रभावशाली नेताहरुसँगको छलफलबाट राष्ट्रपति भण्डारीले सरकार र सत्तारुढ दलमा आफ्नो हस्तक्षेपकारी भूमिका स्थापित गर्न खोजेको सन्देश प्रवाह भएको छ ।

संविधान विपरित रहेको राष्ट्रपतिको यो कदममा प्रधानमन्त्री ओलीको मौन समर्थन लोकतन्त्रका लागि खतरनाक संकेत हो ।

(radionrn)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार