आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदै

आज डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।

यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा र सरकार तथा राजनीति दलहरुलाई यी बिषयमा ध्यानाकर्षण गराउँदै आएकाछन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदा औपचारिक रुपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरु गरिन्छ ।

रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रकृयालाई सामान्य रुपमा आप्रवासन भनिन्छ । आप्रवासीहरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएको छ ।आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्वपूर्ण अंश हो ।

नेपाली आप्रवासीहरुले आफु र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई संघर्ष गर्दै आएका छन् । विशेषगरी नेपालीहरुको गन्तव्य खाडी मुलुकहरु र मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरु कामकै लागि यूरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् ।

यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरुले दैनिक रुपमा अनेकौं समस्याको सामना गर्दै आएकाछन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरुको मात्रै होइन पुरै देशकै आयश्रोतमा बढोत्तरी भएको छ ।

संयूक्त राष्ट्रसंघको ६८ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेको छ ।

यसले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदानलाई पूर्ण रुपमा स्वीकार गरेको छ भने मानव गतिशिलतालाई दिगो विकासको महत्वपूर्ण हिस्साको रुपमा अङ्गीकार गरिएको छ । नेपालमा वर्षेनी आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन ।

आप्रवासीको हकहितका लागि विश्वभरी आप्रवासी दिवस मनाइए पनि कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाई बनाईदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरुबाट गुज्रिंदै आएका छन् ।

(Hamro Patro)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार