नेपाली लोकवार्ता तथा संस्कृति समाजको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता कङ्ग्रेस सम्मेलन हुने भएकाे छ। सम्मेलन नेपाल पर्यटन बोर्डमा मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।
नेपाली लोकवार्ता तथा संस्कृति समाजले बिहीबार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी नेपालको कला, संस्कृति र परम्परालाई आन्तरिक तथा बाह्य ठाँउहरुमा प्रचार–प्रसार गर्न उक्त सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको छ।
नेपाली लोकवार्ता तथा संस्कृति समाजका अध्यक्ष प्राध्यापक तुलसी दिवसले वि.सं. २०५१ सालमा स्थापना भए पनि यो सातौँ सम्मेलन भएको बताए।
उनले सम्मेलनको मूल विषय लोकवार्ता, लोक जीवन तथा अभौतिक सांस्कृतिक सम्पदामा केन्द्रित भई वादविवाद प्रतियोगिता र सो सँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरिने जानकारी दिए।
उक्त सम्मेलनमा नेपाल, अमेरिका, जापान, बंगलादेश, भारत, बेलायत, श्रीलंका र स्पेन लगायतका अन्य मुलुकबाट पनि सहभागिता रहने अपेक्षा गरिएको उनले बताए।
यस्तै कङ्ग्रेसमा लोक कथा कथन, लोक गीत गायन र लोक नृत्यको एक विशेष सत्र रहने आयोजकले जनाएको छ।
लोकवार्ता सम्मेलनमा कला तथा लोकभाषा, पहिचान तथा समेली, अमूर्त सांस्कृतिक उद्योग लगायत १४ विषयमा कार्यपत्र प्रस्तुति र छलफल हुने आयोजकले जानकारी दिएको छ।
उक्त सम्मेलनमा एक सय २५ जनाको सहभागिता रहने आयाेजकले अपेक्षा गरेको छ। आयोजकका अनुसार उद्घाटनका दिन प्रवेश नि:शुल्क भएपनि दोस्रो दिनदेखि नेपालीलाई १५ सय र अन्य मुलुकका नागरिकलाई तीन हजार रुपैयाँ शुल्क लाग्नेछ।
उक्त सम्मेलनमा विगतको झैँ लोकवार्ता, संस्कृति, लोक साहित्य, समाज शास्त्र, मानव शास्त्र, संगीत शास्त्र, भाष विज्ञान, इतिहास, भूगोल, कम्प्यूटर विज्ञान, इन्जिनियरिङ लगायतका विभिन्न विधासँग सम्बन्धित शिक्षा, विद्यार्थी, अनुसन्धाता तथा मूर्त सांस्कृतिक सम्पदाका प्रयोगकर्ता लगायतका व्यक्तिहरुले विचार मन्थन गर्न सक्ने आयोजकले जनाएको छ।
स्राेत सञ्चार






















