पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक प्रणाली लागु गर्दा पूराना कर्मचारीहरुलाई बिदा नगरेर गल्ती भएको बताउनुभएको छ ।

कैलालीको धनगढीमा आज आयोजित सुदूरपश्चिम वित्तिय सम्मेलनमा प्रचण्डले पुरानो मानसिकताका कर्मचारीहरुका कारण नयाँ राजनीतिक प्रणालीले गति लिन नसकेको बताउनुभयो ।

पुरानो संरचनामा काम गरेका कर्मचारीहरुले अहिलेका जनप्रतिनिधिको कार्यशैलीमा भाँजो हाल्ने काम गरिरहेको प्रचण्डको आरोप थियोे । उहाँले नयाँ राजनीतिक परिपाटी अपनाउन नसक्ने कर्मचारीलाई सम्मानपूर्वक बिदा गरेको भए संघीयता कार्यान्नयनमा सजिलो हुने टिप्पणी गर्नुभयो ।

प्रचण्डले सुधार हुन नसकेको कर्मचारीतन्त्रका कारण नेपालमा बामे सर्दै गएको संघीयतामाथि नै खतरा उत्पन्न हुन थालेको बताउनुभयो । कर्मचारीहरुको अटेरीपनले आफूलाई समेत बेचैन पारेको प्रचण्डको गुनासो छ ।

नेताले हार्ने र कर्मचारीले जित्ने परिपाटीका कारण संघीयता खतरामा पर्न थालेको उहाँको भनाई थियो । प्रचण्डले पुरानो ढर्रामा काम गरेका कर्मचारीहरुलाई संघीयता मनै नपरेको जिकिर गर्नुभयो ।

तर यता सुरु देखि नै संघीयताको विरोध गरेको पार्टी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता लागु गर्नु नै ठीक थिएन भन्ने कुरा स्वीकार्न छाडेर कर्मचारीका थाप्लामा दोष थुपार्ने प्रचण्डको अभिव्यक्तिको निन्दा गर्नुभएको छ ।

उहाँले शक्तिराष्ट्रको दबाबमा संघीयता लागु गर्ने नेताहरुले अब कर्मचारीलाई दोष दिएर उम्कन नमिल्ने बताउनुभयो । नेपालले संघीयता धान्नै नसक्ने आफ्नो जिकिर उहाँले दोहो¥याउनुभयो ।

केही लिन पहिले गाउँपालिका तथा नगरपालिकाका प्रमुखले भ्रष्टाचारी बनाउन खोजेकाले संघमा सरुवा माग्दै कर्मचारीको टोली काठमाडौँ आएको समाचार बाहिर आएको थियो ।

स्थानीय तथा प्रदेश सरकारमा भ्रष्टाचार बढेको कुरालाई उजागर गरे पनि यो घटनालाई कतिपयले भने संघीयता विरोधीको बिल्ला भिराए । प्रचण्डले संघीयतामा कर्मचारीबाट खतरा उत्पन्न भएको प्रसंगलाई पनि यो घटनासँग जोडेर हेरिएको छ ।

(radionrn)