प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै भारतले नयाँ नक्सा सार्वजनिक गरेको बताएका छन्।
शनिबार पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा गाभ्नेगरी ओलीले नै सहमति गरेको दाबी गरे।
‘ओलीले भारतसँग सहमति गरेर नेपाली भूमिसहित भारतले नयाँ नक्सा सार्वजनिक गरेको हुन सक्छ,’ देउवाले भने, ‘अहिले नेपाली सिमा मिचिदा पनि सरकारले कुनै उच्चस्तरीय कूटनीतिक पहल नगरेर सहमतिमा नक्सा जारी भएको पुष्टि गरेको छ।’
चारपटक प्रधानमन्त्री बनिसकेका देउवाले वर्तमान सरकारले जनतालाई अनावश्यक कर थुपार्ने र भ्रष्टाचार बाहेक केही गर्न नसकेको आरोप लगाए।
‘यो सरकारले कर बढाउने र भ्रष्टाचार गर्नेबाहेक केही पनि गर्न सकेको छैन’ उनले भने, ‘उपनिर्वाचन सरकारका यस्तै जनविरोधी गतिविधि विपरीतको जनमत बन्नुपर्छ।’
देउवाले सरकारले उपभोक्ता समितिको नाममा करोडौं भ्रष्टाचार गरिरहेको आरोप लगाए।
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न खोज्नु, प्रदेशको नामाकरण नगर्नु लगायतका कामले सरकारले संविधानको मुल मर्ममै प्रहार गर्न खोजेको संकेत गरेको देउवाको भनाई थियो।
(स्राेत Stv)






















