‘पीडित’ महिलाले बयान फेरे पनि महरा कारबाहीबाट जोगिने सम्भावना न्यून

काठमाडौँ – जबरजस्ती करणीको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

थुनछेक बहस सकिलगत्तै महरालाई डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश दिएको हो । अदालतको आदेशपछि महरालाई हिजाे साँझ कारागार लगिएको छ ।

दुईदिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई जेल चलान गर्न आदेश दिएको हो ।

घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिने भएकाले उहाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

निवर्तमान सभामुख महराको पक्षबाट वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, शेरबहादुर केसी, सबिता भण्डारी, लव मैनाली र भोजराज आचार्यले बहस गर्नुभएको थियो । महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपछि उहाँको पक्षबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आदेशको पूर्णपाठ पढेर मात्रै प्रतिक्रिया दिने बताउनुभयो ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी प्रयास गरेको आरोप लागेपछि महरा पक्राउ पर्नुभएको थियो । आज भएको थुनछेक बहसमा महराविरुद्ध किटानी जाहेरी दिएकी ती महिला पनि अदालतमा उपस्थित हुनुभएको थियो ।

इजलासमा शाहीले बोल्ने अनुमति मागे पनि न्यायाधीश सुर्दशनराज पाण्डेले समय दिनुभएन । सुरुमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी शाहीले पछि बोली फेर्दै महराले कुनै दुव्र्यवहार नगरेको बताउँदै आनुभएको छ ।

पीडित भनिएकी महिलाले बोली फेरिपछि महराविरुद्धको मुद्दा के कमजोर हुन्छ त वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई त्यस्तो लाग्दैन । पीडित भनिएकी महिलाले जाहेरीमा उल्लेख भएको विवरणको अदालतमा खण्डन गरे पनि तथ्यहरुले पुष्टि गरे अभियुक्तलाई सजाय हुन सक्ने उहाँले बताउनुभयो ।

सभामुख जस्तो उच्च पदमा आसिन भएका व्यक्ति फौजदारी अभियोगमा पक्राउ परेको र पुर्पक्षका लागि कारागार चलान भएको सम्भवतः यो नेपालका लागि पहिलो घटना हो ।

सबै खाले अभियुक्तहरुले कारबाहीबाट बच्न पीडितलाई डर धम्की र प्रलोभन दिने गरेका हुन्छन् महरा प्रक्रकरणमा पनि त्यो नभएको होला भन्न सकिन्न । तर अब बलात्कार जस्तो जघन्य अपराधका अभियुक्त महराबारे अदालतले अन्तिम फैसला कस्तो गर्नेछ त्यसका लागि भने केही समय कुर्नैपर्छ ।

(radionrn)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार