निवर्तमान सभामुख महरालाई अझै सात दिन थुनामा राख्न अनुमति, कात्तिक १३ सम्म हिरासतमै

संसद सचिवालयमा कार्यरत् महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रोपटक म्याद थपिएको छ ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको बहसपछि प्रहरीले मागेअनुसारकै सात दिनको म्याद थपिएको हो ।

यो म्यादअनुसार महरा यही कात्तिक १३ गतेसम्म हिरासतमै रहनेछन् । यसअघि, हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रोपटक थप भएको पाँच दिनको म्याद बुधबार सकिएको थियो ।

गएको असोज १९ गते साँझ बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका महरा १८ दिनदेखि हिरासतमा छन् । असोज २३ गतेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्नसक्ने कानुनी प्रावधान रहेको छ । बलात्कार प्रयासको आरोप लागेपछि महराले गएको असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । radioNRN

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार