नेत्री कोइरालामाथि आक्रमण गर्नेलाई कारबाही नगरे देशभर आन्दोलन गर्ने कांग्रेसको चेतावनी

कांग्रेसले पार्टीको बाँके जिल्ला सभापति किरण कोइरालामाथि भएको आक्रमणको घोर भतर्सना गर्दै सरकारले दोषीलाई कारबाही नगरे देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको विरोधमा भोली बिहान गृहमन्त्रीलाई जिल्ला सभापतिहरुले ज्ञापनपत्र बुझाउने, अपराह्न माइतीघर मन्डलामा प्रदर्शन गर्ने जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले जिल्ला सभापति एवं ७० वर्षीया नेत्री कोइरालामाथि भएको आक्रमणले सत्तारुढ दल नेकपाका व्यक्तिहरुको मानसिकता उजागर गरेको टिप्पणी गर्नुभयो ।

यता, कांग्रेसका नेता–कार्यकर्तामाथि कुटपिट गर्ने दोषीलाई कारवाही गरिने गृहमन्त्री रामबहादुर थापाले प्रतिवद्धता जनाउनुभएको छ ।

आज आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यो घटनालाई लिएर कम्युनिष्टले कांग्रेसलाई पिटेको भन्ने अर्थमा फेसबुकबाट प्रचारबाजी गरेर चरित्र हत्या नगर्न गृहमन्त्रीले विपक्षीलाई आग्रह गर्नुभएको छ ।

यसैवीच, समितिको बैठकमा कांग्रेस सांसद डीला संग्रौलाले बाँके घटनाबारे गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यसअघि नै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै घटनाबारे सरकार मौन बसेको आरोप लगाउनुभयो ।

यस्तै, नेकपा कार्यकर्ताबाट भएको आक्रमणको विरोधमा नेपाली कांग्रेसले नेपालगञ्जमा चक्काजाम गरेको छ । दोषीलाई कारबाहीको माग गर्दैै नेपाली कांग्रेस बाँकेले नेपालगञ्जको बीपीचोकमा टायर बालेर चक्काजाम गरेको हो ।

radioNRN बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार