प्रचण्डले पार्टीमा अनुशासन खस्कँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्…..

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त गरे ।

कम्युनिष्टमा वैचारिक विचलन आएको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो समय सामूहिकताभन्दा पनि व्यक्तिगत निर्णयतर्फ केन्द्रित भएको महसुस भइरहेको टिप्पणी गरे । “हिजो हामी निकै अनुशासित थियौँ, आत्म अनुशासनबाट मात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौँ”, उनले भने, “आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने, सामूहिक हितलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।”

विगतमा सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारीका साथ कम्युनिष्ट पार्टी चल्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “आजकल त्यो उल्टिएको छ । व्यक्तिगत निर्णयको जिम्मेवारी सबैले लिनुपर्ने । यो निकै उल्टो भएको छ । यो प्रवृत्तिलाई सच्याउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।”

रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार