
पाँचथर ०२, श्रावण पाँचथरको निवुखोलाको पाङ्ग्रे भिरमा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग माथीबाट झरेको पहिरो बाटोमा थुप्रिएपछी सडक बन्द भएको हो । बर्खाको समयमा उक्त सडक विस्तारको काम थालिएको थियो । बर्खाको समयमा भ्याकु चलाएको कारण सडकमा पहिरो गएर बस्तिनै जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । राजमार्ग बन्द भएपछी झापा तथा इलाम बाट फिदिम, ताप्लेजुङ हिडेका दर्जनौ सवारीसाधन हरु अलपत्र परेका छन् ।
निरन्तर पहिरो झरिरकेका काँरण तत्काल पन्छाउने अवस्था समेत नरहेको सो वडाका वडाध्यक्ष सुखविर नेम्वाङले जानकारी दिए । उक्त स्थानमा गत हप्ता देखी नै निरन्तर पहिरो झर्ने गरेको थियो । पटक पटक स्काभेटरले पहिरो पन्छाउदै यातायात सुचारु गर्ने गरको भएतापनी बुधबार भने ठुलो पहिरो गएको स्थानीले बताएका छन् । माथिबाट ढुङ्गा तथा माटो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउने अवस्था समेत नरहेको स्थानीय भगिरथ विश्वकर्माले बताए ।
वैकल्पीक बाटो नहुँदा सवारीहरु सञ्चालन हुन सकेका छैनन् भने सर्बसाधारणहरु १ किलोमिटर तलबाट घुमेर वारपार गरिरहेको फाल्गुनन्द गाउँपालिका कार्यपालिका सदस्य समेत रहेका विश्वकर्माले जानकारी दिए । फिदिम बाट गएका सवारीहरु फिदिम तर्फनै फर्किरहेका छन् भने इलाम तथा झापा बाट पाँचथर, ताप्लेजुङ तथा तेह्रथुम हिडेका सवारीसाधनहरु भने अलपत्र परेको स्थानीयले बताएका छन् ।